पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ९८ जनामा कोरोना संक्रमण देखिएको हो ।
पीसीआर परीक्षणमा ६ र एन्टिजेन परीक्षणमा ९२ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १९ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका २, रम्भा गाउँपालिकाका १ र रिब्दीकोट गाउँपालिकाका ३ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार २ सय ५७ पुगेको छ । जसमा १ हजार ९ सय २० महिला र ३ हजार ३ सय ३७ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको छ । २२० जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका ६ र निस्दी गाउँपालिकाका ८६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार७ सय ६२ पुगेको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २ जना महिला र ९ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ४, रामपुरका १, रैनादेवी छहरा, बगनासकालीका ३/३ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ४ सय ५३ पुगेको छ ।
यहाँ अहिलेसम्म १ सय ६ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ६० छ । अहिलेसम्म जिल्लामा ४ सय २५ जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।