Shittalpati
पाल्पामा मंगलबार ३९ जना नयाँ संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३९ जनामा कोरोना संक्रमण देखिएको हो ।

पीसीआर परीक्षणमा २० र एन्टिजेन परीक्षणमा २९ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ५६ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका १०, माथागढी गाउँपालिका २, रामपुर नगरपालिका, बगनासकाली गाउँपालिकाका ३/३, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार २ सय ९९ पुगेको छ । जसमा १ हजार ९ सय ४५ महिला र ३ हजार ३ सय ५४ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको छ । ७२ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका १२,पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिकाका १/१, बगनासकाली गाउँपालिकाका ५, तानसेन नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ८ सय ३४ पुगेको छ ।


यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा २७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १६ जना महिला र ११ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार रामपुरका ५,पूर्वखोलाका १, र तिनाउका २१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ५ सय ५६ पुगेको छ । यहाँ अहिलेसम्म १ सय ८ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ६९ छ । अहिलेसम्म जिल्लामा ४ सय ३२ जना होम आइसोलेसनमा रहेका छन्, भने ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ

 

 

 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update