पाल्पा, रोटरी क्लव अफ् पाल्पा तानसेनले जिल्लाका विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । क्लवले जिल्लामा कोरोना महामारीको अवस्था कायमै रहेकाले कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका अस्पतालहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री दिएको हो । उसले जिल्ला अस्पताल, पाल्पा लायन्स लाकौंल अस्पताल, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको जनाएको छ ।
यस्तै क्लवका सचिव यादव सिंह कार्कीको सामाजिक सेवाको सम्मान गर्दै उहाँलाई समेत स्वास्थ्य सामग्रीहरु वितरण गरेको थियो । जिल्ला अध्यक्ष शिव प्रसाद देवकोटा, पूर्व अध्यक्ष बुद्धिप्रसाद शर्मा, बंकिम चन्द्र खनाल, मधुदयाल सैजु, कृष्णबहादुर रावल, मोहन श्रेष्ठ सकुन्ताला बज्राचार्य २१/२२ का अध्यक्ष शैलेन्द्र भट्टराई लगायतको रोटरिएनहरुको उपस्थितिमा स्वास्थ्य सामग्री वितरण गरिएको क्लवका अध्यक्ष शिवप्रसाद देवकोटाले बताए ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेयको उपस्थितिमा पूर्वखोला र रम्भा गाउँपालिकाका प्रमुखलाई पनि सिलिण्डर हस्तान्तरण गरिएको छ । यस्तै पाल्पा अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेय, युनाईटेड मिसनका निर्देशक रोटरियन डा. रचेल कारख, पाल्पा लायन्स क्लवका अध्यक्ष बुद्धिप्रसाद शर्मालाई सिलिण्डर, अक्सिजन कन्सेन्टेटर, माक्स, सेनिटाइजर लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।