पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । गाउँपालिका भित्र रहेका ६० वर्ष माथिका स्वास्थ्य स्वयंसेविकाहरुलाई एक कार्यक्रमका बिच विदाईसँगै सम्मान गरिएको हो ।
स्वास्थ्य कार्यालय पाल्पा र गाउँपालिकाले संयुक्त रुपमा ९ जना महिला स्वयंसेविकालाई नगद सहित सम्मान गरेको छ । वडा नं. २ का ४ जना र वडा नं. ३ का ५ जनालाई नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । ६० वर्ष उमेर पुगेका ८ जना र १ असक्तता स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको पोखराथोक स्वास्थ्य चौकीका इञ्चार्ज सरोज काफ्लेले बताए । उनीहरुलाई स्वास्थ्य कार्यालयले २० हजार र गाउँपालिकाले २४ हजार नगद प्रदान गरेको थियो । सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जीवनको बाँकी समय सामाजिक क्षेत्रमा खर्च गर्न स्वयंसेविकाहरूलाई आग्रह गरे । उनले भने‘कोभिड महामारीको समयमा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै आगामी दिनमा सामाजिक क्षेत्रमा अझ सशक्त भएर लाग्नुहोस् ।’ स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण प्रसाद चौधरीले स्वास्थ्य स्वयंसेविहरुले विगतमा पुर्याएको योगदानको कदर स्वरुपम सम्मान गरिएको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, प्रवक्ता लक्ष्मीप्रसाद अधिकारी र १ का वडाध्यक्ष सोमबहादुर झेंडी लगायतले समुदायमा स्वास्थ्यकर्मीको राम्रो पहिचान रहेको भन्दै समुदायमा स्वतन्त्र रुपले सेवा गर्ने स्वयंसेविकाहरूको संलग्नता प्रशसनीय रहेको बताए ।
सम्मानित स्वयंसेविका कल्पना रेग्मीले आफूले सिकेका कुराहरुलाई गाउँ –गाउँमा पुगेर परामर्श र शिक्षा दिने काम गरिएको बताईन । उनले सम्मानले सामाजिक क्षेत्रमा थप सक्रियाशिल भएर लाग्न उत्साहज थपेको उनको भनाई छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरे,स्वास्थ्य चौकी इन्चार्ज र कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालयका प्रमुख नारायणप्रसाद चौधरीको अध्यक्षता गाउँपालिका स्वास्थ्य शाखा सि.अ.न.मी सीता गौतमको स्वागत, स्वास्थ्य कार्यालयका लेखनाथ अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।