Shittalpati
माथागढीमा स्वास्थ्यको बजेट १ करोड ६५ लाख

पाल्पा,जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा १ करोड ६५ लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत स्वास्थ्य क्षेत्रमा १ करोड ६५ लाख ८० हजार रकम विनियोजन गरेको हो ।

यसले कोरोना संक्रमितको निःशुल्क उपचारदेखि विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने गरी स्वास्थ्य क्षेत्रमा बजेट छुट्याएको छ । उसले कोभिड रोग विरुद्ध निःशुल्क चेकजाँच गर्ने, कोभिड अस्पतालमा भर्ना हुने विरामीको निःशुल्क उपचार गर्ने, कोभिडबाट मृत्यु भएका व्यक्तिको परिवारलाई क्रिया खर्च बापत ३५ हजार रकम उपलब्ध गराउने नीति लिएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीको लागि ५ लाख रुपैयाँको दुर्घटना बिमा गर्ने, विद्यालयका सबै बालवालिकाको लागि बर्षमा २ पटक स्वास्थ्य परीक्षण गर्ने नीति तथा कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

अति विपन्न ८ सय घरपरिवारमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक प्रयोगशाला र बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने, एम. वि. वि.एस चिकित्सक सहितको कोभिड अस्पताल सञ्चालन गर्ने, ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकका लागि घर–घरमा स्वास्थ्य परीक्षण, पालिकाका प्रत्येक नागरिकलाई बार्षिक रुपमा निःशुल्क स्वास्थ्य परीक्षण, उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम, गर्भवतीलाई अण्डा घरमा हरियो झण्डा कार्यक्रम, सुत्केरी अस्पताल कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । कोभिड १९ बाट रोजगारी गुमाएका, परिवार गुमाएका व्यक्तिहरुलाई पालिकाको रोजगारीमा सहभागी गराउने पनि नीति तथा कार्यक्रम पेश भएको गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले बताए । गाउँपालिकाले स्वास्थ्यसँगै शिक्षा, कृषि, पशुपालन र पूर्वाधार क्षेत्रमा केन्द्रित रही ५५ करोड ८५ लाख ८८ हजार ४ सयको बजेट ल्याएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update