इन्दिरा ज्ञवाली पौडेल
कविता , आख्यान, नाटक र निबन्ध साहित्यका चार विधाहरू हुन् । कविता सर्वाधिक लोकप्रिय विधा हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।यसै परिप्रेक्ष्यमा साहित्यको चारवटै विधामा दर्जनौं कृति प्रकाशित गरी सक्नु भएका पाल्पाली साहित्य साधक , बहुप्रतिभाशाली व्यक्तित्व पुष्कर अथक रेग्मीद्वारा ७ असार २०७८ का दिन परिकल्पना गरी सामाजिक संजाल मार्फत कविताको लघुतम उपविधाको रूपमा ’ शीत’ को प्रारम्भ भएपश्चात् प्रत्यक्ष,अप्रत्यक्ष फोन, म्यासेन्जर ग्रुप , भाइवर, जुम र गुगल मिट एवं युटुवहरू मार्फत शीतका परिकल्पनाकारले ’शीत’ लेखनको नियम र उदाहरणहरू संप्रेषण गर्दै आउनु भएको छ ।
शीतको लोकप्रियतासंगै १२ असार २०७८ का दिन प्रविधिको प्रयोगद्वारा ‘शीत काव्य समाज नेपाल’ गठन गरेपश्चात यस नव उपविधालाई धेरैले मन पराएको कुरा हामीलाई अनुभूति भयो। शीतको म्यासेन्जर ग्रुप र फेसबुक ग्रुप मार्फत हाम्रो यात्रामा सहभागी हुन आउनेको संख्या देशदेखि विदेशसम्म दिनानुदिन बढ्दै गएको मिठो अनुभूति मैले पाएकी छु । ‘शीत’बाट प्रभावित भएर अग्रज स्रष्टा देवेन्द्र राज शाक्यज्यूले शीतहरू संकलन गरि संग्रहनै निकाल्ने घोषणा गर्नु भएको छ ।
छोटो समयमै शीतले पाएको चर्चाले केही लेखुँ भनेर मेरो मनले कुत्कुत्यायो र मनमा एउटा शीतको भेल आएको अनुभूति गरायो अनि यी हरफहरू कोर्न थाले । शाब्दिक अर्थानुसार ‘शीत’ एउटा सानो पानीको थोपा ,बुँद ,चिसो वा ओस हो । यो दुई अक्षरको हुन्छ , यो कविताको लघुतम रुप हो । ‘लघु’ भन्ने बित्तिकै कुनै पनि वस्तुको एउटा सानो अंश भन्ने बुझाउँछ । जस्तै काँक्रोको लघु रुप चिरो, पानीको थोपो, भातको सितो आदि बुझाए जस्तै यसरीनै नामाकरण गरिएको कविताको लघुतम रूप शीत हो ।मेरो बुझाइमा यस उपविधाले छोटो समयमानै धेरै फड्को मारिसकेको छ ।
मैले यसलाई ‘चटनी’ शब्दले बुझ्न थालेकी छु । चट्नी थोरै हुन्छ तर मिठो, जिब्रो पड्काई पड्काई रसास्वादन गर्छौं त्यस्तै शीत कविता पनि रहेको छ । पहिला दुई अक्षरबाट सुरु भई अष्टाक्षरीमा पुगेपछि एउटा झट्का दिन पुग्छ र शीत वन्दछ । नेपालगञ्जकी नारी स्रष्टा दिलाशाहले शीतलाई टिकटकको संज्ञा दिदै सामाजिक संजालमा लेख्नु भएको – ‘जसरी छोटो समयमै टिकटकलाई सबैले मन पराउनु भयो त्यस्तै शीतलाई पनि ।’
यही क्रमका धेरै स्रष्टाहरूद्वारा शीत लेखन कार्य भईरहेको छ । स्थापित कविहरूद्वारा समेत उत्कृष्ट शीतहरू लेखिएका छन् । मेरो विचारमा – जसरी भू–गर्भबाट खनिज तत्व छानी निकाल्दछौँ त्यसैगरी भाषाको सागर वा गर्भबाट शीतरुपी शब्द चयन गर्न सक्छौ र पूर्ण शीत बन्दछ । शब्द चयन मिल्नपुगेमा चट्नी बन्न पुग्छ ।
शीत विभिन्न छन्द,रस,अलङ्कार, बिम्ब,प्रतीक र व्यङ्ग्य अर्थका साथै अविधा, लक्षणा र व्यञ्जनात्मक शक्तिका रुपमा पनि लेख्न सकिन्छ ।यसलाई मुक्त र वद्घ दुबै शैलीमा रचनागर्न र मानवीकरण गरी सिगार्न,घुमाउँन र नचाउँन डुलाउनपनि सकिन्छ । शीतमा चार पङ्तिले छुट्टा छुट्टै अर्थ दिन्छ , पहिलो विषयवस्तु उठान ,दोस्रो र तेस्रो पङ्तिले थपव्याख्या र चौथोले तर्क वा सारमा गएर टुङ्गिन्छ । पौराणिक, एैतिहासिक, सामाजिक ,राजनैतिक र चारित्रिक साथै समसामयिक विविध क्षेत्रबाट समेत बिम्ब छनौट गर्न सकिन्छ । त्यसैगरी तत्सम, तद्भव आगन्तुक शब्दहरूको प्रयोग गर्न सकिन्छ र अनुप्रास मिलाएर शीतकाव्य रचनागर्दा सुनमा सुगन्धनै हुन्छ । शीत अनुप्राश मिलेका ,नमिलेका, कथात्मक , दोहरी , अन्ताक्षरी आदि गरी बिसौं भन्दा बढी नियम , सूत्रहरूमा लेख्न सकिन्छ । शीतका केही दृष्टान्तहरू निम्नानुसार छन्:
शीत
मेरी
मन्की
रानी ।१।
प्यास
लाग्दा
खान्छु
पानी ।२।
शिव
देव
धर्ती
आऊ ।३।
गौरी
पारु
भन्दै
गाऊ ।४।
माता
पिता
मन
भित्र ।५।
हुन्छ
यहाँ
गाई
जात्रा।६।
शुद्घ
हुन्न
लेख्दा
मात्रा ।७।
रिडी
देव
हिँडी
जाऊँ ।८।
चार
धाम
हाम्रा
नाम ।९।
देखी
आएँ
सब
जन ।१०।
हुनु
हुन्न
शीत
युद्घ ।११।
पर्छ
हुन
महा
बुद्घ ।१२।
( लेखक ‘शीत काव्य समाज नेपाल ’का राष्ट्रिय कोषाध्यक्ष समेत हुन ।)