Shittalpati
असार २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै

पाल्पा,सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै दोस्रो खोप दिने मिति तय भएको जनाएको हो । मन्त्रालयका अनुसार यसअघि लक्षित उमेर समूहलाई लगाइएको खोपको दोस्रो मात्रा लगाउन लागिएको हो । सरकारले जेठ २५ देखि २९ सम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो । स्वास्थ्य सेवा विभागको खोप शाखाका अनुसार पहिलो मात्रा लगाएका ३ लाख ७० हजार नागरिकलाई असार २२ बाट दोस्रो मात्रा खोप लगाइने छ ।चीन र

भारतबाट अनुदानमा प्राप्त २९ लाख, कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार र सरकारले भारतबाट खरिद गरेको १० लाखसहित ४२ लाख ४८ हजार मात्रा खोप आइसकेको छ । यसमध्ये २६ लाख ४ हजार ८ सय ६६ जनाले पहिलो मात्रा लगाएका छन् भने ७ लाख ५७ हजार ६ सय ३५ जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन् । पहिलो मात्रा लगाउनेमा १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ७६ हजार ३ सय २८ जनाले भेरोसेल खोप लगाएका हुन् । दोस्रा मात्रा लगाउनेमा ४ लाख ५९ हजार ६ सय २५ जनाले कोभिसिल्ड र २ लाख ९८ हजार १० जनाले भेरोसेल खोप लगाएका छन् । चीनले दोस्रोपटक उपलब्ध गराएको खोपको पहिलो मात्रा लगाएकालाई असार २२ देखि दोस्रो मात्रा लगाइने कार्यक्रम सार्वजनिक भएको हो  ।

सरकारले अन्य खोप खरिदका लागिसमेत पहल गरिरहेको मन्त्रालयले जनाएको छ । नेपाल सरकारबाट चीनको बेइजिङस्थित साइनोफर्म कम्पनीसँग खोप खरिदको लागि असार २४ गतेबाट खोप आपूर्ति सुरु गर्नेगरी तयारी भइरहेको छ ।
सरकार र चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदको गोप्य सम्झौता भएको थियो । कति पैसामा कति खोप खरिद गरिएको भन्ने सरकारले सार्वजनिक गरेको छैन । ‘खोप खरिदको सम्झौताअनुसार असार २४ बाट सुरु भएपछि साप्ताहिक रूपमा खोप आपूर्ति गर्ने तयारी छ,’ स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update