पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १७ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६ जना महिला र ११ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका १० र रामपुर नगरपालिकाका ७ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ६ सय ९८ पुगेको छ ।
२३ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ५ र एन्टिजेन परीक्षणमा १८ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा २४ जनाको परीक्षण गरिएकोमा रामपुर, तानसेनका २/२ र रैनादेवी छहरा १ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५१ पुगेको छ । जसमा १ हजार ९ सय ६६ महिला र ३ हजार ३ सय ८५ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ । ३४ जनामा परीक्षण गरिएकोमा रामपुरका ८ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ । यहाँ अहिलेसम्म १ सय ११ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय १ पुगेको छ । जिल्लामा ४ सय ६० जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।