पाल्पा,जिल्लामा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।
पीसीआर परीक्षणमा ३० र एन्टिजेन परीक्षणमा ७ जना संक्रमित थपिएका हुन् । ६५ जनाको पीसीआर परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका २५, रामपुर नगरपालिका,रैनादेवी छहरा गाउँपालिकाका एक/एक र बगनासकाली गाउँपालिकाका ३ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ९१ पुगेको छ । जसमा १ हजार ९ सय ८८ महिला र ३ हजार ४ सय ३ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । ४५ जनामा परीक्षण गरिएकोमा बगनासकाली गाउँपालिकाका २, रिब्दीकोट गाउँपालिका ३, निस्दी गाउँपालिका र तानसेन नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ९ सय ९४ पुगेको छ । जसमा महिला एक हजार र पुरुष ९ सय ९४ रहेका छन् ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७ जना महिला र १० जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार रामपुरका ३, रैनादेवी छहरा, तिनाउ, रिब्दीकोटका १/१,निस्दीका २ र तानसेनका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ७ सय ७५ पुगेको छ । जिल्लामा अहिलेसम्म १ सय ११ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ९९ छ । अहिलेसम्म जिल्लामा ४ सय ४५ जना होम आइसोलेसनमा रहेका छन्, भने ५४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।