Shittalpati
पाल्पामा यसरी मनाइयो मगर एकता दिवस

इमान सिं राना

पाल्पा(रामपुर), जिल्लामा ३८ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । जिल्लाको १० स्थानीय तह मध्ये ८ स्थानीय तहमा रहेका मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी विहिबार दिवस मनाएका छन् । मगर बाहुल्यता रहेको जिल्लाका विभिन्न स्थानमा स्थानीय सरकारहरुको सहयोगमा विभिन्न सांस्कृतिक कार्यक्रम भएका थिए । नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरे । दिवसको अवसर पारी एकिकृत मगर उत्थान समाज रामपुरले साँस्कृतिक झाँकी प्रदर्शन तथा जेष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम गरेको छ । दिवसको अवसरमा एकिकृत मगर उत्थान समाजका पूर्व अध्यक्ष क्याप्टेन धन बहादुर राना, क्याप्टेन रोमन बहादुर राना, पत्रकार इमान सिं राना लगायतलाई समाजमा पुर्यायाएको योगदानको प्रशंसा गर्दै मगर समुदायको पोषाक भांग्रा ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

यस्तै समाजका जेष्ठ सदस्यहरु चन्द्र बहादुर थापा र भिमकुमारी रानालाई नगद सहित सम्मान पत्र र खादा ओढाई सम्मान गरिएको छ । कार्यक्रमको उद्घाटन संगै सम्मान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले हाम्रो समाजमा एकतामा विविधता भएको समाज भएकाले सम्पूर्ण भाषा समुदायको संरक्षण गर्नु आवश्यक रहेको बताए । उनले नगरपालिकाले भाषा संस्कृतिको संरक्षण र प्रवद्र्धनको लागि डकुमेन्ट्री निर्माण गरेको उल्लेख गर्दै सबैको प्रतिनिधित्व हुने गरी फागुन २४ गते देखि हुने पर्यटन महोत्सव पनि झाँकीहरु प्रदर्शन गर्न लागिएको बताए । थापाले अन्य स्थानमा भएको प्रयासलाई हेरेर नगरमा मगर समुदायको बाहुल्यता भएकाले पनि संस्कृतिको सम्मान गर्दै विदा दिइएको बताए । उनले जातिय सद्भावलाई कायम राख्दै संस्कृतिको जगेर्नामा लाग्न आग्रह समेत गरे ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले पाल्पा आफैमा मगर समुदायको बाहुल्य भएको बताउँदै कुनै पनि समुदायको कला संस्कृतिको संरक्षण गर्ने जिम्मा नगरको भएकाले संस्कृतिको उजागरको लागि विदा दिइएको बताए । कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई, एकिकृत मगर उत्थान समाजका अक्षयकोष समितिका संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, एकिकृत मगर उत्थान समाजका पूर्व अध्यक्ष एवं सल्लाहाकार संयोजक क्याप्टेन रोम बहादुर राना, रामपुर उद्योग वाणिज्य संघका सचिव खिम बहादुर क्षेत्री, नेवा ः समाज रामपुरका सहसचिव सुर्य श्रेष्ठ लगाएतले बोल्दै भाषा र संस्कृति हाम्रो पहिचान भएकाले आफ्नो अस्तित्व रक्षाको लागि संस्कृतिको जगेर्ना आवश्यक रहेको बताएका थिए । बेझाँड बजारमा भएको कार्यक्रममा मगर संस्कृतिमा आधारित कौरा, मारुनी, झ्याउरे तथा सालैजो लगाएतका झाँकी प्रदर्शन गरिएको थियो । साथै एकिकृत मगर उत्थान महिला समुहले मगरी खानाका परिकारहरु बटुक, बंगुरको मासु, तरुल लगाएतका परिकार विक्री वितरण गरेका थिए । कार्यक्रम पूर्व झाँकी सहित मगरी भेषभुषमा सजिएका एकिकृत मगर उत्थान समाजका १७ समुहका दाजुभाई तथा दिदी बहिनीहरुले बेझाँड बजार परिक्रमा गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु खेम राना, प्रिया सारु र जमुना पुन सहित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । एकिकृत मगर उत्थान समाजका अध्यक्ष राम बहादुर हिस्की थापाको अध्यक्षतामा भएको कार्यक्रम सहअध्यक्ष नरेन्द्र कुमार जर्घाको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई नेपाल मगर संघका कार्यवाहक अध्यक्ष दुर्गा देवी रानाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव राम बहादुर राना र रेडियो पाल्पाका प्रस्तोता कल्पना सोमैले गरेका थिए । त्यस्तै माथागढी गाउँपालिका ३ कसेनीमा पनि विविध कार्यक्रम गरी दिवस मनाइएको छ ।

सराई मगर समाजको आयोजना माथागढी गाउँपालिकाको आर्थिक सहयोगमा विविध सांस्कृतिक कार्यक्रमसँगै मगरी खाना महोत्सव गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले ७५ प्रतिशत मगर समुदाय रहेको गाउँपालिकामा मगरहरुको परम्परागत संस्कृति संरक्षणमा गाउँपालिकाले विशेष योजनाहरु अगाडि सारेको बताए । कार्यक्रममा विभिन्न मगरी संस्कृतिका झाँकीहरु प्रर्दशन गरिएको थियो । कार्यक्रम लोकेन्द्र थापाको अध्यक्षता, संगीता थापा मगरको सञ्चालनमा कार्यक्रम भएको थियो । त्यस्तै जिल्लाका अन्य स्थानमा पनि विविध कार्यक्रमहरुको आयोजना गरिएको जिल्ला मगर संघले जनाएको छ । मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झन अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाईदै आएको छ । मगर समुदायको बाहुल्यता रहेका आठ स्थानीय तहहरुमा दिवसका अवसरमा सार्वजनिक विदा दिइएको थियो । रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला, माथागढी, तिनाउ, बगनासकाली, रैनादेवी छहरा र रम्भा गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् । तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाले भने सार्वजनिक विदा नदिइएको जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update