रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाले सुरुवातदेखि नै सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो ।
गाउँपालिकाले यहाँका ८ सय विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिदै आएकोमा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा यो कार्यक्रम समावेश गरेको छ । गाउँपालिकाले आर्थिक रुपमा विपन्न र गरीब नागरिकको स्वास्थ्य सेवासम्म पहुँच पर्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । पैसाको अभावमा स्वास्थ्य सेवा पाउनबाट नागरिक बञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यलाई स्वास्थ्य बीमा कार्यक्रम गर्दै आएकोमा त्यसलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको उनको भनाई छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि गाउँपालिकाले २८ लाख रकम विनियोजन गरेको छ । चार हजार नागरिकको ८ करोड बराबरको स्वास्थ्य बिमा गरिदिएको अध्यक्ष थापाले बताए । गाउँपालिकाका आठ वटै वडाबाट स्वास्थ्य बीमामा सहभागी हुन नसकेका विपन्न र अति गरीब ८ सय परिवारको बीमा गाउँपालिकाले गरिदिएको छ । ‘नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु गाउँपालिकाको अधिकार क्षेत्रभित्रको विषय हो, अध्यक्ष थापाले भने,‘नागरिकको अधिकारको संरक्षण गर्न, आर्थिक रुपले विपन्न बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रमलाई निरन्तरता दिएका हौँ ।’
गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विपन्न परिवारको घर–घरमा बिमाकर्ता परिचालन गरेर बिमा गराएपछि यहाँका नागरिक खुशी भएका छन् । बीमा गरेपछि स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गराउनेको संख्या समेत बढ्न थालेको छ । सरकारले गरिब र आर्थिक अवस्था कमजोर भएकाहरुलाई स्वाथ्य सेवाको पहुँचमा पुर्याउन स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन लाग्ने शुल्क तिर्न नसक्नेहरुका लागि यो कार्यक्रम निकै प्रभावकरी भएको छ । स्वास्थ्य बिमा गरिब र आर्थिक अवस्था कमजोर भएकाहरुलाई केन्द्रित गरिएपनि सुरुमा बुझाउनुपर्ने ३५ सय रुपैयाँ पनि तिर्न नसक्नेलाई समस्या रहेको थियो । सामान्य रोग लागि हाल्यो भने पनि ऋण खोजेर सदरमुकाम धाउनु पर्ने समस्याले सताउने गरेको यहाँका स्थानीयलाई अहिले सहज भएको छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएपछि सामान्य गाडी भाडाको जोहो गरेर मात्र पनि उपचारका लागि सदरमुकाम जान सकिने स्थानीयको भनाई छ । नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनेर सरकारले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । जसमा परिवारका पाँच सदस्यले वर्षमा तीन हजार ५ सय रुपैयाँ तिरेर बीमा कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ । पाँचभन्दा बढीको हकमा भने प्रतिव्यक्ति ७ सय रुपैयाँ बुझाउनुपर्ने छ । यहाँका विपन्न परिवारको यो सबै रकम माथागढी गाउँपालिकाले बुझाउँदै आएको छ ।