रामचन्द्र रायमाझी
पाल्पा, कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लागेको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना संक्रमण दर विस्तारै उकालो लागेको हो ।
विहीबार ३ सय ४५ नमुनाको परीक्षण गर्दा १ सय १५ जनामा संक्रमण पुष्टि भएको थियो । यो निषेधाज्ञा खुकुलो भएपछि देखिएको सबैभन्दा बढी संक्रमण दर हो । ५० जनाको पीसीआर गर्दा १९ जना संक्रमित र २ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । विहिवार १ सय १५ जना संक्रमित हुँदा ६८ जना मात्र निको भएका छन् । यस्तै शुक्रबार १ सय ४९ जनामा नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको छ । ६२ जना भने निको भएका छन् ।
‘कोरोना संक्रमितको संख्या बढ्दै गएको छ,’ स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायणप्रसाद चौधरीले भने, ‘लकडाउन खुकुलो भएसँगै लापरवाही पनि बढेको छ, परीक्षण बढेको कारण पनि संक्रमितको संख्या बढेको हो ।’
वैशाख १७ गतेबाट जिल्लामा सुरु भएको निषेधाज्ञा असार ३१ सम्म जारी छ । निषेधाज्ञा जारी भए पनि निजी गाडीहरु, विभिन्न पसल, व्यवसाय सञ्चालन भइरहेका छन् । असार २२ गतेदेखि सबै खाले पसल, व्यवसाय, निजी यातायात समेत सञ्चालन भएका कारण जिल्लाका प्रमुख बजारमा मानिसको भीडभाड छ । आर्थिक वर्षको अन्त्य भएकोले बैंक, वित्तीय संस्था, सरकारी कार्यालयमा पनि भीड लाग्ने गरेको छ । मास्क, सेनिटाइजर, भौतिक दूरीजस्ता स्वास्थ्यका मापदण्डसमेत पालना भएका छैनन् ।
होटल तथा रेष्टुरेण्ड,अन्य पसल व्यवसायसमेत सञ्चालन गर्न दिने गरी यसअघिको निर्णय परिमार्जन गर्दै बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म सबै खालका पसल, व्यवसाय सञ्चालन गर्न दिने निर्णय पनि जिल्ला प्रशासनले जारी गरेको आदेशमा छ । सरकारी कार्यालयका सेवाहरु पनि दैनिक सञ्चालन हुँदै आएका छन् । स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकअनुसार, निषेधाज्ञा खुकुलो भएयता दैनिक संक्रमितको संख्या बढिरहेको छ ।
कुनै दिन ५/१० जनामा सीमित भएको संक्रमितको संख्या बढेर दैनिक ४० देखि १ सय १५ पुगिसकेको छ । ३ सयसम्म झरेको सक्रिय संक्रमितको संख्या बढेर पुनः ५ सय ५४ पुगिसकेको छ । शुक्रबार ९० जनामा पिसिआर परीक्षण गरिएकोमा माथागढी गाउँपालिकाका १७, रामपुर नगरपालिकाका १, बगनासकाली गाउँपालिकाका २, रिब्दीकोट गाउँपालिकाका २ र तानसेनका ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ५९ जनामा एन्टिजेन परीक्षण गरिएकोमा रामपुरका ८, रम्भाका १, बगनासकालीका २, रिब्दीकोटका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जारी गरेको नियमित कोरोना अपडेटमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ६२ निको भएका छन् । रामपुरका ६, रम्भाका १, रिब्दीकोटका १, निस्दीका ५२ र तानसेनका २ जनाका कोरोना संक्रमणमुक्त भएका हुन् । यहाँ अहिले सम्म ५ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ५ सय १ जना होमआइसोलेसनमा छन् भने ५३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । जिल्लामा अहिलेसम्म १ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।