रामचन्द्र रायमाझी
पाल्पा, मुलुकको सबै भन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली काँग्रेस आसन्न १४औँ महाधिवेशनको मिति नजिकिदै जादा तयारीमा जुटेको छ । गाउँ, नगर, वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा आगामी नेतृत्वका लागि काँग्रेसका नेता र नेतृत्व जुटेका छन् । देशभरका स्थानीयतहदेखि प्रदेश, जिल्ला र केन्द्रसम्मका सबै क्षेत्रमा महाधिवेशनको तयारीमा काँग्रेसको नेतृत्व लागि रहेका बेला पाल्पा काँग्रसे भने पहिरो पीडितका घर–घरमा पुगेर राहत र सहानुभूति बाँड्ने काममा व्यस्त छ । जनताहरु कोरोना महामारीको कहर र प्राकृतिक विपत्तिसँग जुधिरहेका बेला पाल्पा काँग्रेस महाधिवेशनको तयारीलाई छोडेर पीडितको घर–घरमा पुग्दै आएको छ । उसले जनताहरु दुःख र पीडासँग लडिरहेको देख्न नसक्ने भन्दै दुःखमा साथ दिन पीडितका घर–घरमा पुग्ने गरेको बताएको छ । महाधिवेशनका लागि आफ्नो अवस्था बुझ्ने, कार्यकर्ताको सुझाव लिने र आफ्नो मत बलियो बनाउने अभियानमा सक्रिय हुनुपर्ने यहाँका नेताहरु पहिरो र कोरोनाबाट पीडित जनताको घरदैलोमा पुग्ने गरेका हुन् ।
गत विहीबार अविरल वर्षाका कारण गएको पहिरोले प्रभावित बनेका तिनाउन–५ चर्चरेका जनताहरुको घर दैलोमा काँग्रेस पुगेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाको नेतृत्वमा राहत लिएर काँग्रेस पहिरोबाट पीडितहरुको घरमा शुक्रबार पुगेको हो । काँग्रेसले पहिरोबाट विस्थापित ५ घर परिवारका लागि खाद्यान्न सहयोग गरेको छ । उसले पहिरोमा ज्यान गुामएकाप्रति श्रद्धाञ्जली, परिवाजनमा समवेदना र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनसँगै राहत लिएर पुगेका नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद रानाले प्राकृतिक विपद्बाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले पहिरो पीडितहरुलाई धर्य भएर बस्न आग्रह गर्दै छिट्टै उचित व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताए । सभापति रानाले काँग्रेस सधै गरिब, दुखी र पीडितहरुका लागि अग्रसर हुँदै आएको पार्टी रहेको बताउँदै तत्कालका लागि केही खाद्यान्न लिएर आएको बताए । उनले आवश्यक राहत र बस्ने प्रवन्धका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । सभापति रानाले दैवीप्रकोपका कारण समस्यामा परेका परिवारका सदस्यहरुको यथासक्य छिटो गाँस,बास र कपासको व्यवस्थापन गर्न सरोकारवाला पक्ष सबैको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन् ‘स्थानीय विद्यालयमा आश्रय लिई रहेका पीडित परिवार र बालबालिका, महिला तथा वृद्धवृद्धालाई औषधोपचारका साथै उनीहरुको जीविकोपार्जनका लागि तीनै तहका सरकारले ध्यान दिन जरुरी छ ।’ पत्रकार तथा नेपाली काँग्रेसका युवा नेता जगदीश भट्टराई,नेपाली काँग्रेस पाल्पाकी नेतृ तथा समाजसेवी मीनापन्थी, काँग्रेस नेताहरु रुक्मागत भट्टराई, स्थानीय समाजसेवी तथा अन्य नेताहरुको सहभागितामा राहत वितरण गरिएको थियो ।
गत विहीबार गएको पहिरोमा परी तीन जनाले ज्यान गुमाएका छन् भने ६ जना घाईते छन् । पहिरोमा परेर ४५ वर्षीय वीरबहादुर गुरुङ ,४ बर्षीय आरोप परियार र ७५ वर्षीय सुन्दरी गुरुङको ज्यान गएको छ । पहिरोमा परी घाइते भएका २६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिल बहादुर राना र दिपेश पुनको उपचार भइरहेको छ । पहिरोले दुई घर पुरिएको र तीन घर बगाएको थियो । बिरबहादुर गुरुङ, रमेश परियार, नरबहादुर राना, हरी दर्लामी र बलबहादुर पुनको घर बगाएको हो । पहिरोका कारण विस्थापितहरुलाई स्थानीय बालकल्याणी आधारभूत विद्यालय मस्याममा खाना, बस्नको व्यवस्था मिलाइएको छ ।
यस्तै केही दिन अघि काँग्रेसले रिब्दीकोट गाउँपालिका पालुङ मैनादी चम्पती धनराजाका पहिरो पीडित तीन घर परिवारलाई राहत सहयोग गरेको थियो । उसले पहिरो पीडित यमबहादुर गाहा, भुवनसिं गाहा र अन्त बहादुर गाहाको परिवारलाई घरमै पुगी आवश्यक लत्तकपडा, खाद्यान्न सहयोग गरेको हो । दुखको बेलामा केही भए पनि राहत दिलाउन पीडितको घरदैलोमा पुग्ने गरेको पार्टी सचिव झपेन्द्र गहिरेले बताए । प्राकृतिक विपत्तिमा परेका जनताहरुसँगै नेपाली काँग्रेस पनि सँगै रहेको उनको भनाई छ ।