Shittalpati
भानुको योगदानको अनुसरण गरौं

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज देश–विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रामायणको सरल नेपाली अनुवादलाई भानुभक्तको मुख्य योगदान मानिन्छ । रामायणले नेपालीहरूलाई भाषामार्फत जोडेको भन्दै उनलाई त्यसैको आधारमा राष्ट्रवादको हिरो बनाइएकोमा कतिपय आलोचकहरूले कडा टिप्पणी गरेका छन् । भानुभक्तका अन्य रचनाहरू केलाउँदा पनि उनको चिन्तन तत्कालीन समाजभन्दा निकै पछाडी रहेको औंल्याउनेहरू पनि छन् ।
भानुभक्तलाई दिइएको आदिकविको उपाधि कति उचित भन्नेबारे विवाद कायम छ । भानुभक्तको योगदान, आदिकवि उपाधि, उनका रचनामा भएको प्रगतिशीलताबारे बेला–बेला कोठे गोष्ठी हुँदै आए पनि पर्याप्त मात्रामा खुला बहस हुन सकेको छैन । कवि भानुभक्त आचार्यको नेपाली भाषा र संस्कृतिको जगेर्नामा पु¥याएको योगदान कसैले भुल्न मिल्दैन । नेपाली भाषा र साहित्यका माध्यमबाट भानुभक्तले नेपाली समाजलाई एकाकार बनाएको पाइन्छ । समाजमा विभिन्न किसिमबाट योगदान गर्न सकिन्छ भन्ने कुराको महत्वपूर्ण उदाहरण भानुभक्त हुन् । भाषा र साहित्यका माध्यमबाट भानुभक्तले पु¥याएको योगदान सबैका लागि प्रेरणादायी रहेको छ । भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ्ग लगायतका क्षेत्रहरु अनि नेपाली समाजमा भएका विश्वभरिकै देशहरुमा भानुजयन्ती मनाइन्छ । आजको दिन विभिन्न साहित्य संघसंस्थाहरुले विविध कार्यक्रम गरी भानुजयन्ती मनाउने गर्दछन् । भानुभक्तलाई आदिकवि भनिन्छ । भानुभक्त कविमात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरुमा भानुभक्तको लय अझै जीवित छ । भानुभक्तका विरोध र समालोचनामा समेत धेरै कुराहरु लेखिए । उनलाई केवल अनुवादको बिल्ला लगाउन चाहने नाङ्गा तर्कहरु पनि आए तर ति कुराहरु उनी प्रतिको अन्याय हो । नेपाली भाषा र विशेषतः भानुभक्तका कृतिहरुप्रतिको समर्पणले, नेपाली भाषाको फराकिलो दायरा र नेपालीपन उद्घोष गर्दछ । नेपाली साहित्यको श्रीवृद्धिमा भानुको योगदान अनुकरणीय र प्रशंसनिय रहेको छ । तत्कालिन समयमा कविताहरु र औपचारिक साहित्यहरु संस्कृत भाषामा हुने गर्दथे, यस अर्थमा संस्कृत भाषा बुझ्न र बुझाउन सक्ने ब्राह्मणहरुको आवश्यक्ता र महत्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आँफै साहित्य र कलात्मक अभिव्यक्ति बुझ्न गाह्रो थियो । भानुभक्तले उतिबेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपिवद्ध गरिदिएका थिए । भानुभक्तले अध्ययन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरुको सरल पहुँचमा विस्तार गरेका हुन् । आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् । तसर्थ यिनको रचनामा समाज र व्यवहारिक्ताको संगम पाइन्छ । भानुभक्तबाट अहिलेका पुस्ताले योगदान र भाषामोहको अनुसरण गर्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update