हाम्रा संवाददाता
काठमाडौं, नेपाली कँंग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै मंगलबार नै राष्ट्रपति भण्डारीले शपथ गराएकी छन् । राष्ट्रपति कार्यालयबाट जारी प्रधानमन्त्री नियुक्तिको सूचनामा संविधानको धारा उल्लेख नगरी अदालतको परमादेशलाई मात्रै उल्लेख गरिएकोमा देउवाले आफ्नो गम्भीर असहमति जनाएकाले शपथ ढिला गरी गराइएको थियो । बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् ।
विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित देउवा २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए । विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी चार पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भए । त्यसपछि उनी २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री बने । त्यस्तै प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने पनि राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पदबाट बर्खास्त गरेका थिए । यस्तै काँग्रेस सभापति एवम् संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो प्रधानमन्त्री निर्वाचित भएका थिए । नेपाली काँग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा वि.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय भएका थिए ।