सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति भनिन्छ । प्राय सबैले यसलाई साउने संक्रान्ति पनि भन्दछन् । माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन पृथ्वीको उत्तरी गोलार्ध अर्थात् उत्तर तर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिण गोलार्धमा अर्थात् दक्षिणतर्फ यात्रा गर्ने भएकोले दक्षिणायन पनि आजकै दिनदेखि सुरु हुन्छ । ग्रीष्म ऋतुको समय अवधि समाप्त हुन्छ । अनि श्रावण संक्रान्तिका दिनबाट नै वर्षा ऋतुको आरम्भ हुन्छ ।
साउन सङक्रान्तिले धान रोप्ने समयको समाप्तिलाई जनाउछ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको धार्मिक महत्व रहेको बताइन्छ । साउने संक्रान्तिका दिन बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । लौकिक चलनअनुसार यसदिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ । निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । बेलुका लुतोफाली धार्मिक महत्वको साथ संक्रान्ति मनाइन्छ । सूर्य मिथुन राशीबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट संक्रान्तिका रुपमा मनाइन्छ । आजका दिन कन्डारक नाम गरेको रात्रिचर राति हिँड्नेको पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणि गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । साउने संक्रान्तिदेखि चाडलाई प्रकृतिको पूजा, पूर्खाको सम्झना सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रूपमा पनि मान्ने गरिन्छ । साउन लागे लगत्तै हिन्दू महिलाहरुमा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ । पछिल्ला वर्षहरुमा साना बालिका र किशोरीहरु समेत मेहन्दी र रातो वस्त्र लगाएर साउने व्रत बस्ने गरेका छन् । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनका रुपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएकाले साउनका सबै दिनलाई उत्तिकै महत्वको रुपमा लिइन्छ । साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ ।