पाल्पा,पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको हो । निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना संक्रमण दर विस्तारै उकालो लाग्दै गएको छ ।
शुक्रबार मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६२ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १० जना र एन्टिजेन परीक्षणमा ५२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ६१ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकाका १/१, बगनासकाली गाउँपालिकाका ६ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ५ सय २४ पुगेको छ । जसमा २ हजार ४७ महिला र ३ हजार ४ सय ७७ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ४३ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका २४, बगनासकाली गाउँपालिकाका १२ र तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिकाका ८/८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ३ सय २० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १२ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६ जना महिला र ६ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार रामपुरकाका ८, तानसेनका २, रैनादेवी छहरा,रिब्दीकोटका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार १ सय ९४ पुगेको छ । यहाँ अहिलेसम्म १ सय १५ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय ३५ पुगेको छ । जिल्लामा ५ सय जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
वैशाख १७ गतेबाट जिल्लामा सुरु भएको निषेधाज्ञा साउन १० गतेसम्म जारी छ । निषेधाज्ञा जारी भए पनि निजी, सार्वजनिक गाडीहरु, विभिन्न पसल, व्यवसाय सञ्चालन भइरहेका छन् । असार २२ गतेदेखि सबै खाले पसल, व्यवसाय, यातायात समेत सञ्चालन भएका कारण जिल्लाका प्रमुख बजारमा मानिसको भीडभाड छ । मास्क, सेनिटाइजर, भौतिक दूरीजस्ता स्वास्थ्यका मापदण्डसमेत पालना भएका छैनन् । स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकअनुसार, निषेधाज्ञा खुकुलो भएयता दैनिक संक्रमितको संख्या बढिरहेको छ ।