Shittalpati
रैनादेवीद्वारा सामाजिक सुरक्षा भत्ता बैंकबाट

पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट भुक्तानी गर्ने भएको छ । गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रममा सम्मिलित सबै लाभग्राहीको बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्ने गरी कामकाज अगाडि बढाएको हो ।

नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको नीति बमोजिम सबै लाभग्राहीको अनिवार्य बैंकिङ प्रणाली मार्फत भुक्तानी गरिने काम अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले बताए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उल्लेखित कार्यक्रम गर्न एकजना सुपरीवेक्षक र २ जना फिल्ड सहायक पदका कर्मचारी भर्ना गरी उनीहरु मार्फत राष्ट्र बैंकले तोकेका पालिकाका बैंकका कर्मचारी खटिएको प्रशासकीय अधिकृत खत्रीले जानकारी दिए ।

यहि फागुन महिनाको २९ गतेसम्म सबै वडाका लाभग्राहीको बैंक खाता खोली सकिने गाउँपालिकाले जनाएको छ । एक व्यक्ति एक खाता तथा सामाजिक सुरक्षा रकममा हुन सक्ने दोहोरोपना र दुरुपयोग रोक्न बैंकिङ्ग प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने खत्रीले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update