Shittalpati
गुल्मीको मदानेमा प्याराग्लाइडिङ्गको सफल परीक्षण

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको मदाने गाउँपालिकाको वडा २ बाँझकटेरीको कसुरे डाँडामा प्याराग्लाइडिङ्गको सफल परीक्षण गरिएको छ । बाँझकटेरीमा स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराको टोलीले तीन वटा प्याराग्लाइडिङ्ग उडाएसँगै प्याराग्लाइडिङ्गको सफल परीक्षण गरिएको हो ।

गाउँपालिकाले होलबाङ्ग प्याराग्लाइडिङ्ग संभाव्यता अध्ययनका लागि आर्थिक बर्ष ०७६/०७७ मा दुई लाख विनियोजन गरेको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए । बाँझकटेरीको कसुरे डाँडा प्याराग्लाइडिङ्गको हिसावले अत्यन्तै राम्रो रहेको स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराका प्रमुख तथा चालक भुवन गाहाले बताए । उनले पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाईमा मात्रै भएको लामो र छोटो दुरीको प्याराग्लाइडिङ्गका लागि कसुरेडाँडा अत्यन्तै महत्वपूर्ण भएको बताए । प्याराग्लाइडिङ्गको परीक्षणको क्रममा त्यहाँ पुगेका पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण बिष्टले विकटलाई निकट बनाउन प्याराग्लाइडिङ्गको संभावना मर्न नदिने बताए । नियमित प्याराग्लाइडिङ्गको लागि आवश्यक भौतिक संरचना निर्माण गर्न आफु तयार रहेको बताए । उनले अग्लुङ्गबाट कसुरेहुँदै सिमलटारीसम्म पुग्ने सडकको स्तरवृद्धिसंगै कालो पत्रेको काम अगाडि बढेकाले कसुरेको प्याराग्लाइडिङ्गलाई थप टेवा पुग्ने बताए । गाउँपालिका प्रमुख दान बहादुर केसीले सडक निर्माणसंगै होलबाङ्गमा होमस्टे निर्माण गर्न गाउँपालिकाले योजना बनाउने बताए । उनले व्यावसायी रुपमा प्याराग्लाइडिङ्ग अगाडि बढाउने बिषयमा आफुहरु सक्रिय रुपमा लाग्ने बताए ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update