Shittalpati
पाल्पा कोरोना अपडेटः बुधबार ५५ जना नयाँ संक्रमित थपिए, २९ जना निको

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५५ जना नयाँ संक्रमित थपिएका हुन् ।

पीसीआर परीक्षणमा ११ जना र एन्टिजेन परीक्षणमा ४४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ४४ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, तानसेन नगरपालिकाका १/१ , र रैनादेवी छहरा गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ७३ पुगेको छ । जसमा २ हजार १ सय ८३ महिला र ३ हजार ५ सय ९० जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ७५ जनामा परीक्षण गरिएकोमा माथागढी गाउँपालिका,पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिकाका १/१,रामपुर नगरपालिकाका २४, रैनादेवी छहरा गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका २ र तानसेन नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ७ सय ६८ पुगेको छ । जसमा १ हजार ४ सय १२ जना महिला र १ हजार ३ सय ५६ जना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १७ जना महिला र १३ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ११, रामपुरका ११, रैनादेवी छहराका १, बगनासकालीकाका ६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार ९ सय ९४ पुगेको छ । यहाँ अहिलेसम्म १ सय २६ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय २१ पुगेको छ । जिल्लामा ३ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update