पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
पीसीआर परीक्षणमा १० जना र एन्टिजेन परीक्षणमा ३५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ५१ जनाको परीक्षण गरिएकोमा रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, निस्दी गाउँपालिकाका १/१ र तानसेन नगरपालिकाका ६ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ९२ पुगेको छ । जसमा २ हजार १ सय ९० महिला र ३ हजार ६ सय २ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ५३ जनामा परीक्षण गरिएकोमा माथागढी गाउँपालिकाका १८, रामपुर नगरपालिकाका ९,पूर्वखोला गाउँपालिकाका ४, रैनादेवी छहरा गाउँपालिकाका ३ र बगनासकाली गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ८ सय ५३ पुगेको छ । जसमा १ हजार ४ सय ५८ जना महिला र १ हजार ३ सय ९५ जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र ३ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ४, माथागढीका २, निस्दीका १, तानसेनका ४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार ७९ पुगेको छ । यहाँ अहिलेसम्म १ सय २७ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ३९ पुगेको छ । जिल्लामा ३ सय ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।