पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३५ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा २० जना र एन्टिजेन परीक्षणमा १५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ६९ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिका,रामपुर नगरपालिका, तिनाउ गाउँपालिकाका १/१, बगनासकाली गाउँपालिकाका ३, रिब्दीकोट गाउँपालिकाका २ र तानसेन नगरपालिकाका १२ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ८ सय १२ पुगेको छ । जसमा २ हजार १ सय ९८ महिला र ३ हजार ६ सय १४ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ । ५२ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका ७, पूर्वखोला गाउँपालिकाका १, रैनादेवी छहरा गाउँपालिकाका २ र बगनासकाली गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ८ सय ६८ पुगेको छ । जसमा १ हजार ४ सय ६४ जना महिला र १ हजार ४ सय ४ जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र १५ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ६, माथागढीका ३, रामपुरका २०, रम्भाका १, बगनासकालीका ४र तिनाउका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार १ सय १४ पुगेको छ । यहाँ अहिलेसम्म १ सय २८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । जिल्लामा ३ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् भने ६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।