रामचन्द्र रायमाझी
पाल्पा, पाल्पा सहित लुम्बिनी प्रदेशका पाँच जिल्ला ‘रेड जोन’ मा परेका छन् । पाल्पा, गूल्मी ,कपिलवस्तु, प्यूठान र अर्घाखाँचीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खतराको सूचीमा राखेको छ । स्वास्थ्य मन्त्रालयले पाल्पालाई ‘रेड जोन’को सूचीमा राखे पनि सतर्कता भने अपनाइएको छैन । निषेधाज्ञा खुकुलो पारिएसँगै यहाँ हेलचेक्र्याइँका कारण कोरोना संक्रमण दिनप्रति दिन बढ्दै गएको छ । खोप अभियान जारी रहेकै बेला संक्रमण तीव्र गतिमा देखिन थालेको हो । निषेधाज्ञा खुकुलो भएसँगै यहाँ स्वास्थ्य सुरक्षा सतर्कता घटेको छ । मास्क नलगाउने बढेका छन् । बजार खुलेपछि किनमेल गर्नेको भीड लाग्न थालेको छ । बढ्दो संक्रमणलाई मध्यनजर गरेर पाल्पामा स्थानीय प्रशासनले निषेधाज्ञा लम्ब्याएको छ । प्रशासनले साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरे पनि उच्च सतर्कता अपनाउने विषयमा भने गम्भीरता नदेखाएको स्थानीयहरुको आरोप छ । यहाँका बजारहरुमा मानिसहरुको अत्याधिक भिड हुनुको साथै निर्वाध रुपमा कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । जसका कारण जिल्लामा संक्रमण बढ्दै गएको हो ।
यहाँ सक्रिय संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । जिल्लामा शनिबार मात्र ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३५ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा २० जना र एन्टिजेन परीक्षणमा १५ जना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ६९ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिका,रामपुरनगरपालिका,तिनाउगाउँपालिकाका १/१, बगनासकाली गाउँपालिकाका ३, रिब्दीकोट गाउँपालिकाका २ र तानसेन नगरपालिकाका १२ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ८ सय १२ पुगेको छ । जसमा २ हजार १ सय ९८ महिला र ३ हजार ६ सय १४ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ । ५२ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका ७, पूर्वखोला गाउँपालिकाका १, रैनादेवी छहरा गाउँपालिकाका २ र बगनासकाली गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ८ सय ६८ पुगेको छ । जसमा १ हजार ४ सय ६४ जना महिला र १ हजार ४ सय ४ जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र १५ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ६, माथागढीका ३, रामपुरका २०, रम्भाका १, बगनासकालीका ४र तिनाउका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार १ सय १४ पुगेको छ । यहाँ अहिलेसम्म १ सय २८ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा ३ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् भने ६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य मापदण्डअनुसार पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा माथि पुगे निषेधाज्ञा लगाउनुपर्छ । निषेधाज्ञा खुकुलो भएको केही समयमै फेरि संक्रमित थपिएका हुन् । अस्पतालका बेड बिरामीले भरिन थालेका छन् । निषेधाज्ञा नाम मात्रैको भएको र जिल्ला प्रशासन कार्यालयसहित स्थानीय तहले जिम्मेवारीबोध नगर्दा संक्रमण दर बढ्दै गएको स्थानीयले बताएका छन् । जोखिममा देखिएको क्षेत्रहरूको पहिचान र त्यस क्षेत्रलाई सिल गरी आवत–जावतमा कडाई नगर्दा कोरोनाको जोखिम बढिरहेको तानसेनका दीपक अधिकारीले बताए । उनले भने ‘प्रशासनले निर्णय मात्रै गर्छ तर कार्यान्वयन गर्ने पाटोमा ध्यानै दिँदैन’, उनले भने, ‘नियमनकारी निकायहरूले नागरिकको स्वास्थ्यप्रति जिम्मेवारबोध गरेनन् ।’
निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमण उकालो लाग्नु चिन्ताजनक अवस्था रहेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । उनले नागरिक आफै सचेत नहुँदा संक्रमणको अवस्था बढ्दै गएको बताए । प्रजिअ पाण्डेले भने‘हामीहरुले सचेतनाका कार्यक्रमहरु गरिरहे पनि नागरिकस्तरबाटै त्यसको कार्यान्वयन हुन सकेको छैनन् ।’ जिल्लामा थोरै जनशक्तिबाट धेरै काम गर्नु परेको उनको भनाई छ ।
‘कोरोना संक्रमितको संख्या बढ्दै गएको छ,’ स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायणप्रसाद चौधरीले भने, ‘लकडाउन खुकुलो भएसँगै लापरवाही पनि बढेको छ, परीक्षण बढेको कारण पनि संक्रमितको संख्या बढेको हो ।’ संक्रमितहरू परीक्षणमा नआउने, लापरवाही र अटेरीपनले गर्दा पनि सक्रमणको दर घट्न नसकेको उनको भनाई छ ।