Shittalpati
लुम्बिनीमा आइतबार चार संक्रमितको मृत्यु

लुम्बिनी, बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन संक्रमितको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै दाङस्थित अस्थायी कोरोना अस्पताल बेलझुण्डीमा उपचारका लागि भर्ना भएका एक संक्रमितको आइतबार नै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका रोल्पाको लुङग्री गाउँपालिका–६ निवासी ५८ वर्षीय पुरुष, दाङको तुलसीपुर उपमहानगरपालिका– १५ निवासी ४५ वर्षीय पुरुष र सुर्खेतको भेरीगङ्गा नगरपालिका– १० निवासी ३९ वर्षीय महिलाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार लुङग्री– ६ रोल्पा निवासी ५८ वर्षीय पुरुषको आइतबार बिहान २ः०० बजे, तुलसीपुर–१५ दाङ निवासी ४५ वर्षीय पुरुषको बिहान ८ः३० बजे र भेरीगङ्गा–१० सुर्खेत निवासी ३९ वर्षीय महिलाको बिहान उपचारका क्रममै मृत्यु भएको हो । योसँगै हालसम्म कोरोना संक्रमणपछि उपचारका लागि अन्यत्र जिल्लाबाट बाँकेका अस्पतालमा आएका ३ सय ८६ व्यक्तिको मृत्यु भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कोरोना उपचार केन्द्रका रुपमा रहेको भेरी अस्पतालमा पुनः कोरोना संक्रमित बिरामीको चाप बढ्दै गएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताए । यस्तै दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीया महिलाको मृत्यु भएको हो । उनको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । ती महिला साउन १५ गतेदेखि सघन उपचार कक्षमा उपचाररत थिइन् । उनमा निमोनियासँगै श्वासप्रश्वासमा पनि समस्या थियो । अहिले अस्पतालको सघन उपचार कक्षमा छ जनाको उपचार भइरहेको छ । –रासस

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update