हाम्रा संवाददाता
गुल्मी, गुल्मीका ६० हजार भन्दा बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । डेढ वर्षको अवधिमा यहाँका ६० हजार ५ सयले नागरिकले स्वास्थ्य बीमा गराएका हुन् । बीमा गरेकाले पनि नियमित नविकरण गरेका छैनन् । नेपाल सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा कार्यक्रम २०७६ माघबाट गुल्मीबाट सुरु गरेको थियो ।
२ लाख ८० हजार १ सय ६० जनसंख्या रहेको जिल्लामा ३२ हजार महिला र २८ हजार ५ सय पुरुषले मात्र स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य बीमा कार्यक्रमको स्थायित्वका लागि प्रति परिवारबाट वार्षिक ३ हजार ५ सयमा बीमा कार्यक्रम सुरु गरिएको थियो । बीमा गरे बापत राज्यले वार्षिक १ लाख रुपैयाँसम्मको सेवा दिने नीति लिएको छ । ५ जनाको परिवारलाई एउटा परिवार मान्ने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म कूल जनसंख्याको २१ प्रतिशतले मात्र स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा वोर्ड सम्पर्क कार्यालय गुल्मीका कार्यालय प्रमुख तथा दर्ता अधिकारी डिकेन्द्र बिष्टले जानकारी दिए ।
स्वास्थ्य बीमा गर्नेमा रेसुङ्गा नगरपालिकाका १० हजार ७ सय, मुसिकोट नगरपालिकाका ३ हजार ३ सय, मालिका गाउँपालिकाका ३ हजार ८ सय, मदाने गाउँपालिकाका १ हजार ४ सय ५०, इस्मा गाउँपालिकाका २ हजार ८ सय, धुर्कोट गाउँपालिकाका ४ हजार, गुल्मीदरबार गाउँपालिकाका ५ हजार, छत्रकोट गाउँपालिकाका ६ हजार २ सय, रुरु गाउँपालिकाका ७ हजार ९ सय, कालीगण्डकी गाउँपालिकाका ४ हजार, चन्द्रकोट गाउँपालिकाका २ हजार १ सय २५ र सत्यवती गाउँपालिकाका ८ हजार ५ सय ५० जना रहेका छन् । संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरे पनि अझै धैरै नागरिकहरु स्वास्थ्य बीमाको पहुँचमा आउन सकेका छैनन् । जिल्लामा सेवा प्रदायक संस्थाबाट प्रदान गरिने सेवासुविधा प्रभावकारी नहुनु र सबैलाई थाहा नहुँदा ७९ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा आउन सकेका छैनन् । नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यका साथ स्वास्थ्य बीमा कार्यक्रम सुरु भएपनि प्रभावकारी बन्न सकेको छैन । नेपालको संविधानमै उल्लेख गरी सबै नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको हो ।
जिल्लामा रहेका ९३ वडाका ९३ जना सम्पर्क व्यक्ति मार्फत स्वास्थ्य बीमा गर्दै आए पनि सबैलाई यस कार्यक्रममा समेट्न सकिएको छैन् । नेपाल सरकारले ७० वर्षभन्दा बढी उमेर पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्क गर्दै आएको छ । जसमा ७० वर्ष काटेका ११ हजार १ सय ३७ जनाले स्वास्थ्य बीमा गरेका छन् । त्यस्तै ‘क’ वर्गका अपाङ्गहरुलाई गरिने निशुल्क बीमामा जिल्लाका ५ सय २८ घरपरिवारले स्वास्थ्य बिमा गराएका छन् । घरमा एकजना ‘क’ वर्गको अपाङ्ग भएका उक्त घरका ५ जनासम्मको निःशुल्क बीमा हुँदै आएको छ । एचआईभी एड्स नामक भाइरसको संक्रमण भएका ८२ जनाको घरपरिवारलाई समेत स्वास्थ्य बीमा गरिएको कार्यालयले जनाएको छ । त्यस्तै कुष्ठ रोग लागेका जिल्लाका ७ जनाको घरपरिवालाई समेत निःशुल्क स्वास्थ्य बीमाको सुविधा पुर्याइएको कार्यालयका प्रमुख तथा दर्ता अधिकारी बिष्टले जानकारी दिए ।