पाल्पा, मालपोत कार्यालय पाल्पामा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि केही समयका लागि सेवा रोकिएको छ । कार्यालयमा कार्यरत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएपछि साउन ३२ गतेसम्मका लागि कार्यालयको सेवा रोकिएको हो ।
कार्यालयले एक सूचना जारी गरी केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले आन्तरिक बाहेकका सम्पूर्ण सेवाहरु स्थगन गरिएको जनाएको छ ।
सूचनामा मंगलबारदेखि यही साउन ३२ गते सोमबारसम्म कार्यालय बन्द रहने उल्लेख गरिएको छ । ५ जना कर्मचारीमा संक्रमण देखिएपछि अन्य कर्मचारी र सेवाग्राहीमा समेत संक्रमण फैलिन सक्ने हुँदा साउन ३२ गतेसम्मका लागि सबै सेवा स्थगन गरिएको निमित्त प्रमुख इविन्द्रराज बस्याललद्वारा जारी सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले पनि कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि यस अघि नै साउन २९ गतेसम्मका लागि सेवा स्थगन गरेको छ । कार्यालयमा कार्यरत ९ जना कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जना कर्मचारीमा संक्रमण देखिएपछि साउन २९ गतेसम्मका लागि कार्यालयको सेवा स्थगत गरेको हो । कार्यालयल एक सूचना जारी गरी केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा तथा ठाडो उजुरी बाहेकका सम्पूर्ण सेवाहरु स्थगन गरिएको जनाएको छ जिल्लामा संक्रमण कायमै रहेको हुँदा स्वास्थ्य मापदण्डको पालनामा जोड दिन पनि स्थानीय प्रशासनले अनुरोध गरेको छ । पाल्पामा अहिले पनि दैनिक संक्रमित थपिने र निको हुने क्रम जारी छ ।