
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६८ जना संक्रमितले कोरोना जितेका हुन् ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४१ जना महिला र २७ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २०, माथागढी गाउँपालिकाका ६, रामपुर नगरपालिकाका १५, पूर्वखोला गाउँपालिका,रैनादेवी छहरा गाउँपालिकाका १/१,रिब्दीकोट गाउँपालिकाका ५, रम्भा गाउँपालिकाका ९, बगनासकाली गाउँपालिकाका ७ र तिनाउ गाउँपालिकाका ४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार २ सय ६२ पुगेको छ ।
४९ जना नयाँ संक्रमित थपिए
यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ५ र एन्टिजेन परीक्षणमा ४४ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा २१ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिकाका १, तानसेन नगरपालिकाका ४ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ४० पुगेको छ । जसमा २ हजार २ सय १३ महिला र ३ हजार ६ सय २७ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ६९ जनामा परीक्षण गरिएकोमा माथागढीका २३, रामपुरका ४, पूर्वखोलाका २, रम्भाका ७, बगनासकाली, रिब्दीकोटका १/१ र तानसेनका ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार १३ पुगेको छ । यहाँ अहिलेसम्म १ सय ३० जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ६१ पुगेको छ । जिल्लामा ३ सय ९० जना होम आइसोलेसनमा रहेका छन् भने ७१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।