रामचन्द्र रायमाझी
पाल्पा, कोरोना भाइरसका संक्रमण घटेसँगै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइयो । तर समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा दैनिक २० देखि सय जनाको हराहारीमा संक्रमित थपिन थालेका छन् ।
जिल्लामा अहिले सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको छ भने समयसीमा तोकेर लगभग सबै क्षेत्र खुला गरिएको छ । निषेधाज्ञा खुकुलो बनेसँगै सर्वसाधारणको दैनिकी सहज बन्दै गएको त छ तर स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा लापरबाही गरिँदा संक्रमित थपिँदै गएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । ‘जनस्तरबाट बढी नै लापरबाही भएको देखिन्छ,’ पाण्डेले भने । मास्क लगाउन, स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड तथा सरकारद्वारा जारी निर्देशन पालना भएको छैन । पछिल्लो समय कोरोनालाई सामान्य तरिकाले पनि लिइँदा संक्रमितको संख्या बढ्दै गएको छ ।
निषेधाज्ञा खुकुलो भएपछि अहिले तानसेन बजारमा सामान किन्नेको भीडले बाटो छिचोल्न समेत हम्मेहम्मे हुने गरेको । बसपार्कमा गाडी चढ्न लाइन लाग्नेको भीड उस्तै देखिने गर्दछ । भीडभाडमा अधिकांशले सुरक्षा मापदण्ड पालना गरेको देखिँदैन । अधिकांशले मास्क प्रयोग गरे पनि कमैले नाकमुख मात्र छोपिने गरी र कसैले चिउडोमुनि लगाएर हिड्ने गरेका छन् । तानसेनमा कपडा पसल गर्दै आएका मनिष शाक्यले कोरोना नै भनेर सधैं डराएर बस्न सबैलाई सम्भव नहुने बताए । चिउँडोमुनि मास्क सारेर बसेका उनले भने, ‘सधैं कोरोना भनेर डराएर बसियो भने सटर भाँडा समेत तिर्न पुग्दैन ।’ पछिल्लो समय परीक्षण गरिएकामा संक्रमण बढ्दै जाँदा जिल्लाका अस्पताल संक्रमित बिरामीले भरिन थालेको स्वास्थ्यकर्मी बताउँछन् ।
जिल्लामा बुधबार थप ९० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा २२ जना र एन्टिजेन परीक्षणमा ६८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ७८ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिका निस्दी गाउँपालिकाका १/१, बगनासकाली गाउँपालिकाका ५, रिब्दीकोट गाउँपालिकाका ३ र तानसेन नगरपालिकाका १० जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ६२ पुगेको छ । जसमा २ हजार २ सय २७ महिला र ३ हजार ६ सय ३५ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ६८ जनामा संक्रमण पुष्टि भएको छ । २ सय ९८ जनामा परीक्षण गरिएकोमा माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिकाका २/२, रामपुर नगरपालिकाका ९,पूर्वखोला गाउँपालिकाका ३,रैनादेवी छहरा गाउँपालिकाका ७, रम्भा गाउँपालिकाका १२, तिनाउ गाउँपालिकाका १३, रिब्दीकोट गाउँपालिकाका ३ र तानसेन नगरपालिकाका १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ८१ पुगेको छ । जसमा १ हजार ५ सय ७६ जना महिला र १ हजार ५ सय ५ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा ७० जना संक्रमितले कोरोना जितेका छन् ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४१ जना महिला र २९ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ११९,माथागढीका ८, रामपुरका २१, रैनादेवी छहराका ३,रम्भाका ९, बगनासकालीकाका ५, तिनाउका २, रिब्दीकोट, निस्दी र पूर्वखोलाकाका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार ३ सय ३२ पुगेको छ । यहाँ अहिलेसम्म १ सय ३० जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ८१ पुगेको छ । जिल्लामा ४ सय ४ जना होम आइसोलेसनमा रहेका छन् भने ७७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्डविपरीत भीडभाड, धर्ना, जुलुस नगर्न आग्रह गर्दै आएको छ तर त्यसको पालना भने फितलो देखिन्छ । निको हुने दरभन्दा संक्रमित हुनेको दर बढ्दै जाँदा पुनः कडा निषेधाज्ञा लगाउनुपर्ने अवस्था आउने हो कि भन्ने देखिएको छ ।