पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४४ जना नयाँ संक्रमित थपिएका हुन् ।
पीसीआर परीक्षणमा २० जना र एन्टिजेन परीक्षणमा २४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ६५ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिकाका २/२, रिब्दीकोट गाउँपालिकाका १ र तानसेन नगरपालिकाका १३ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ८२ पुगेको छ । जसमा २ हजार २ सय ३६ महिला र ३ हजार ६ सय ४६ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको छ । १ सय २० जनामा परीक्षण गरिएकोमा बगनासकाली गाउँपालिकाका १०, रामपुर नगरपालिकाका ४,रैनादेवी छहरा गाउँपालिकाका ५, रम्भा गाउँपालिकाका ४,बगनासकाली गाउँपालिकाका १० र तानसेन नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार १ सय ५ पुगेको छ । जसमा १ हजार ५ सय ८८ जना महिला र १ हजार ५ सय १७ जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ११ जना महिला र १८ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ५,रामपुरका १३,रम्भाका ५, बगनासकालीकाका ५ र रिब्दीकोटका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार ३ सय ६१ पुगेको छ । यहाँ अहिलेसम्म १ सय ३२ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ९२ पुगेको छ । जिल्लामा ४ सय २१ जना होम आइसोलेसनमा रहेका छन् भने ७३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।