पाल्पा, पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा संक्रमणको ग्राफ दिनहुँ उकालो लाग्दै गएको हो ।
स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा दैनिक ५० देखि दुई सय जनाको हराहारीमा संक्रमित थपिन थालेका छन् ।
जिल्लामा आइतबार मात्र महामारीको दोस्रो चरण यता अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा दुई सय जना नयाँ संक्रमित थपिएका हुन् ।सबै भन्दा बढी तानसेन नगरपालिकामा देखिएको छ ।
पीसीआर परीक्षणमा १० जना र एन्टिजेन परीक्षणमा १ सय ९० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा १९ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिकाका २, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिकाका १/१, रम्भा गाउँपालिकाका ३ र तानसेन नगरपालिकाका ३ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ९ सय २४ पुगेको छ । जसमा २ हजार २ सय ५५ महिला र ३ हजार ६ सय ६९ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १ सय ९० जनामा संक्रमण पुष्टि भएको छ । ७ सय ४६ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका ४, पूर्वखोला गाउँपालिकाका १ र तानसेन नगरपालिकाका १ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ३ सय ६६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ सय ७४ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९४ जना महिला र ८० जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका १ सय ५२, रामपुरका १४, रैनादेवी छहराका ३, बगनासकालीकाका ३ र रिब्दीकोट, तिनाउका १ /१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार ६ सय ५० पुगेको छ । यहाँ अहिलेसम्म १ सय ३२ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय ८ पुगेको छ । जिल्लामा ४ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने ६४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।