Shittalpati
पाल्पामा एकै दिन यसरी बढी देखियो कोरोना

पाल्पा, स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको कोरोना नियमित अपडेटमा दुई सय जनामा कोरोना संक्रमण पुष्टि गर्‍यो । कोरोना अपडेट सार्वजनिक भए लगत्तै जिल्लाका सञ्चारमाध्यमहरुबाट एकै दिन दुई सय जनामा कोरोना संक्रमण भएका समाचारहरु सार्वजनिक गरियो । समाचार सार्वजनिक भएपछि जिल्लामा आमनागरिकहरुमा सन्त्रास पैदा भयो । स्वास्थ्य कार्यालयले सधा जस्तै नियमित कोरोना अपडेटमा प्रत्येक स्थानीय तहको छुट्टाछुट्टै कोरोना दर सार्वजनिक गरेको थियो । सोही अनुसार नै मिडियाहरुले समाचार सार्वजनिक गरेका थिए । तर स्वास्थय कार्यालयले भने एकै दिन दुई सय संक्रमित बढेको नभई प्राविधिक कारणले छुट भएको तथ्यांक अपडेट गर्दा संक्रमित धेरै देखिएको बताएको छ ।

स्वास्थ्यले आइतबार सार्वजनिक गरेको उक्त तथ्यांकको अन्तमा नोट भन्दै तानसेन नगरपालिकाको आइएमयु एपमा समावेश गर्न छुटेको संक्रमित समेत समावेश गरिएको उल्लेख गरेको छ । स्वास्थ्य कार्यालयले विगतमा तानसेन नगरपालिकामा देखिएका संक्रमणहरुको दर अपडेट नभएकाले अहिले विवरण समावेश गरिएको बताएको छ । उसले तानसेन नगरपालिकाको गत असार ४ गतेदेखि आइतबारसम्मको कोरोना संक्रमणको तथ्यांक समावेश गर्दा संक्रमण दर बढी देखिएको बताएको छ । तानसेन नगरपालिकाबाट स्वास्थ्य मन्त्रालयको एपमा अपडेट गर्नुपर्ने तथ्यांक छुट भएकाले स्वास्थ्य कार्यालयले थप गरेर तथ्यांक अपडेट गरेको जनाएको हो ।

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update