पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।
पीसीआर परीक्षणमा १६ जना र एन्टिजेन परीक्षणमा ३५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ५७ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिका,रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका,रम्भा गाउँपालिकाका १/१ र तानसेन नगरपालिकाका ११ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ६४ पुगेको छ । जसमा २ हजार २ सय ७५ महिला र ३ हजार ६ सय ८९ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको छ । २ सय जनामा परीक्षण गरिएकोमा माथागढी गाउँपालिका, निस्दी गाउँपालिकाका १/१, रामपुर नगरपालिकाका ६, रम्भा गाउँपालिकाका १२, तिनाउ गाउँपालिकाका ३ र तानसेन नगरपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ४ सय १४ पुगेको छ । जसमा १ हजार ७ सय ६० जना महिला र १ हजार ६ सय ५४ जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २६ जना महिला र ३० जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका १७,रामपुरका १२,पूर्वखोलाका २, रैनादेवी छहराका ख७, रम्भा, तिनाउका १/१, बगनासकालीकाका ११, रिब्दीकोटका ३ र निस्दीका २ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार ७ सय ३८ पुगेको छ । यहाँ अहिलेसम्म २ सय १४ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय २६ पुगेको छ । जिल्लामा ३ सय ८० जना होम आइसोलेसनमा रहेका छन् भने ४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।