Shittalpati
निर्धारित समयमै महाधिवेशन होस्

नेपाली काँग्रेसको महाधिवेशन तीन महिना पछि धकेलिएको छ । अहिलेको कोभिडको प्रतिकूल परिस्थिति र राजनीतिक परिर्वतनले कांँग्रेसलाई महाधिवेशनको मिति धकेल्ने एउटा मौका मिलेको हो । त्यही मौकाको सदुपयोग गर्दै काँग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने तय गरेको मिति मंसिरमा पुर्‍याएको छ । यसलाई परिस्थिती अनुसार उपयुक्त समयका रुपमा लिन सकिन्छ । कोरोना महामारीको अवस्था कायमै रहेको र यतिबेला खेतीपातीको समयभएकाले पनि भदौ महिना उचित हुन सक्दैन्थ्यो ।
जानीजानी मानिसहरूको जमघट गराएर कोरोना फैलाउने माध्यम खडा गर्नु उपयुक्त पनि होइन । जनस्वास्थ्यभन्दा महाधिवेशन ठूलो कुरा होइन भन्ने कुरा काँग्रेसले बुझेको हुनुपर्छ । नेपाली कांग्रेसले जिम्मेवारीबोध गरेको रूपमा यसलाई हेर्नुपर्ने हुन्छ । संवैधानिक र कानुनी रूपमा पार्टीलाई अवैधानिक हुनबाट बचाउनका लागि काँग्रेसलाई अहिले जसरी पनि महाधिवेश गराउनु नै छ । यसैले पनि काँग्रेसले परिस्थितीलाई बुझेर अगाडि बढेको हुनुपर्छ । यही अप्ठ्यारो अवस्थालाई विचार गरेर नै सर्वसम्मत निर्णयबाट नेपाली काँग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । अब निर्धारण गरिएको यस समयलाई भने अनुपयुक्त भन्न मिल्दैन । यो हिउँद महिना भएका कारण मौसमको प्रतिकूलता हुँदैन । यो समय काँग्रेसले अवसरका रुपमा पनि लिनुपर्दछ । प्रजातान्त्रिक संघर्षबाट उदाएको कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिँंदै गर्दा आगामी नीतिभन्दा पनि नेतृत्वको बहसले प्राथमिकता पाएको छ । अन्य दलमा जस्तै काँग्रेसमा पनि गुट, उपगुटहरू छन् । त्यस्ता समूहहरू पार्टीको आगामी नीति, विधि र विचारका विषयमा भन्दा पनि नेतृत्वका विषयमा बढी केन्द्रित भएका देखिन्छन् । मुलुकले सामना गरेको मानवीय र आर्थिक संकट, संवैधानिक संकट र वर्तमान संविधानको कार्यान्वयनसँगै जनअपेक्षालाई समयमै सम्बोधन गर्न अबको काँग्रेसमा नीति र नेतृत्व दुवै चलायमान हुनु अति आवश्यक छ । नेपाली काँग्रेस नेपालको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएका कारण अरूले के गरे भन्नेतिर भन्दा आपूmले प्रजातान्त्रिक कार्यशैली अपनाएर अरूका लागि उदाहारण बन्नु आवश्यक हुन्छ । जसका लागि नेपाली काँग्रेसको महाविवेशन हुनुपर्ने थियो र निर्धारण भएको मिति नै सबैभन्दा उपयुक्त भएकाले अब कुनै पनि बाहानामा महाधिवेशन सार्नु हुँदैन ।

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update