पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
पीसीआर परीक्षणमा १४ जना र एन्टिजेन परीक्षणमा ३१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ४१ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिका,रामपुर नगरपालिका,रम्भा गाउँपालिकाका १/१, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका २/२ र तानसेन नगरपालिकाका ६ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ७८ पुगेको छ । जसमा २ हजार २ सय ८१ महिला र ३ हजार ६ सय ९७ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ७७ जनामा परीक्षण गरिएकोमा माथागढी गाउँपालिका, रामपुर नगरपालिकाका ७/७, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिकाका ४/४ र तानसेन नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ४ सय ४५ पुगेको छ । जसमा १ हजार ७ सय ७५ जना महिला र १ हजार ६ सय ७० जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३२ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र १२ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ३, माथागढीका ११, रामपुरका ९,पूर्वखोलाका ४, रैनादेवी छहराका २, रम्भाका १, बगनासकालीकाका २ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार ७ सय ७० पुगेको छ । यहाँ अहिलेसम्म २ सय १५ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । जिल्लामा ३ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् भने ४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।