नेपालमा पछिल्लो केही दिन यता पुनः कोरोना संक्रमणको गा्रफ उकालो लागेको छ । देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा हाल खुकुलो बनाउँदै लगेका कारण कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । दैनिक रुपमा हुने संक्रमित र मृतकहरुको संख्या थपिन थालेको स्थितिमा आगामी दिनका लागि शुभ संकेत पक्कै पनि होइन । पहिलो चरणभन्दा दोस्रो धेरै घातक भएको अवस्थामा अब आउने भनिएको तेस्रो चरण झन् डरलाग्दो र उग्र हुने निश्चित जस्तै छ । कोरोनाको औषधि नबनेको अवस्थामा अहिले खोप र स्वास्थ्य मापदण्डको उचित पालना नै यसबाट बच्ने उत्तम विकल्प हो ।
सरकारले विदेशी मुलुकहरुबाट कतै अनुदानमा त कतै खरिद गरेर देशभित्र खोप ल्याएको त छ तर त्यो पर्याप्त भने छैनन् । यस अघिको केपीशर्मा ओली नेतृत्वको सरकारले आफुले ल्याएको खोप नै अहिले वितरण भइरहेको दावी गर्दै वर्तमान सरकारले खोपको सुनिश्चित गर्न नसकेको आरोप लगाउदै आएको छ । हो भारत, चीन र अमेरिकाबाट खोप ल्याउने काम ओली सरकारले गरेको हो भन्न कुनै कञ्जुस्याइँ गर्नु पर्दैन । तर जापानबाट आएको खोप विगतको ओली सरकारको पहलमा नभई अहिलेको देउवा सरकारको पहलमा हो । पहिलेको ओली नेतृत्वको सरकारले जनतालाई खोप दिने सवालमा गरेको काम प्रशंसनीय नै छ । तर भारतबाट कोभिशिल्डको आयात हुन नसक्दा महिनौँसम्म जनताले दोस्रो खोप पाउन नसकेको वास्तविकता पनि बिर्सन मिल्दैन । सरकार परिवर्तन भएपनि जनताले खोप पाउने कुरामा राजनीतीकरण गरिनु हुँदैन । चाहे जसको सरकार होस्, जनताले कोरोनाविरुद्धको खोप लगाउन पाउनु पर्छ, पाइरहेका पनि छन् । यसको दायरा बढाउन भने आवश्यक छ । अझै पनि देशमा रहेको ठूलो जनसंख्याको हिस्सा खोप लगाउनबाट वञ्चित नै छ । लाखौँ वृद्धहरुले अझै पनि पहिलो डोज लगाएको ५–६ महिना हुनलाग्दासमेत दोस्रो डोज लगाउन पाएका छैनन् भने कयौँको खोप केन्द्रसम्म जान नसक्ने अवस्था रहेको हुनाले उनीहरु त्यसबाट वञ्चित छन् । महामारीलाई परास्त गर्न खोप पनि शक्तिशाली हतियार भएको सन्दर्भमा सरकारले खोप व्यवस्थापनलाई चुस्तदुरूस्त बनाउँदै अधिकांश जनसंख्याको पहुँचमा त्यसलाई यथाशीघ्र पुर्याउनै पर्ने देखिन्छ । अहिलेको गतिले १६ वर्षमाथिका सबै जनताले खोप पाउन निकै समय लाग्न सक्छ । त्यसैले जनतालाई खोप लगाउने विषयलाई प्राथमिकतामा राखेर सरकारले विदेशबाट खोप ल्याउने क्रम बढाउनु पर्छ । सधैँ निषेधाज्ञा र बन्दाबन्दीको जालोमा जकडिएर जनता बस्न सक्दैनन् । अहिले ५० वर्षभन्दा माथिकाले खोप लगाउने अवसर पाएका छन् । अब छिटो भन्दा छिटो यो उमेर समूहलाई १६ वर्षमाथिका सबैले खोप पाउने अवस्थासम्म पुर्याउनतर्फ सरकारले ध्यान दिन जरुरी छ ।