जनक कार्की
समिक्षा तानसेन, पाल्पा
ब्रिटेनबाट स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी कुमारी लामाको उज्यालो अन्धकार निबन्ध पहिलो कृति हो । निबन्ध र समालोचनामा समान रूपमा कलम चलाउने उनी मूलतः महिला र सीमान्त वर्गको अवाज मुखरित गर्न रुचाउँछिन् । उनका फुटकर लेखहरू राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालय तानसेनमा अंग्रेजी विषयको अध्यापन गर्छिन् ।
कतै कथा जस्ता लाग्ने, कतै लामा कविता जस्ता अनि कतै व्यक्तिगत संस्मरण जस्ता लाग्ने कुमारी लामाको कृति उज्यालो अन्धकार एउटा फरक बनावटबाट उनिएको निबन्ध संग्रह हो । यस संग्रहमा लेखक आफू जन्मेको देश र आफूले अध्ययन गरेको देशमा भोगेका, देखेका, भेटेका सम्पूर्ण कुरालाई बटुलेर निबन्धको आकार दिएकी छन् । आत्मपरक भएर निबन्धलाई सजाइएको छ । हरेक विषयवस्तुलाई एउटा लेखकले कसरी जीवनदर्शन, समाजिक मूल्याङ्कन, तुलनात्मक अध्ययन, संस्कृति र परम्पराको दृष्टिले हेर्न सक्छ भन्ने कुरा निबन्ध पढेपछि महसुस गर्न सकिन्छ । २०९ पृष्ठको संग्रहमा ३० वटा निबन्ध अटाएका छन् । जसलाई स्व संवाद , सम भाव र समय संवाद भनेर विभाजित गरिएको छ ।
सर्दुको फूल
गरिबी आफैँमा अभिषाप हो । प्रत्येक दिन मरिरहेको उसले एक दिन सधैँको लागि मर्ने निर्णय किन लियो ? उसको मृत्युको कारण के थियो उसैलाई थाहा होला । समाजका तीखा प्रश्नहरू; श्रीमतीको कमाइ खाएर बस्ने हुतियारा , श्रीमतीले विदेशमा परपुरुषसँग मोज गर्दै छे भन्ने अफवाह , छोराछोरीलाई पेटभर खुवाउन नसकेको छट्पटी वा रक्सीको लत आदि इत्यादि जे पनि हुनसक्छ । आत्महत्याको कारण आर्थिक अवस्थाले निम्त्याएको विविध दुःखकष्ट , हिनतावोध , गलत संगत जे भए पनि । जबसम्म पिँधमा बसेकाहरूको जीवन सहज र सुलभ हुन्न तबसम्म यस्तै आफैलाई सिध्याउने सिलसिला जारी रहन्छ । यसरी सीमान्तकृत वेदान्त बिम्ब दिन सफल यो निबन्ध आफैमा एउटा कारुणिक व्यथाको प्रतिनिधि विषय हो ।
भुईँकुहिरो र कान्छी तामङको सपना –१
एक्लोपनको कथा हो । जो सारा सपना र रहरलाई मनभित्र दबाएर आफ्नाका निम्ति गरिएको समर्पणको व्यथा हो । घरआँगनको कटहर वर्षैपिच्छे फुल्छ, पाक्छ र झर्छ । तर, उसको जीवन कोपिलामै पूर्णविराम लागेको भाग्यको रेखा हो । उदास पहाडको भिरमा फुलेको फूल हो । जो फुल्न त फुल्यो तर टिप्न कोही आएनन् । निबन्धले एक्लो जीवनमा भएको वेदनालाई अक्षरको व्यञ्जनले थालभरी पस्किएको छ ।
भुईँकुहिरो र कान्छी तामाङको सपना –२
५० लाग्दै गरेकी कान्छी तामङ अब ७० को आसपासमा छन् । यो धर्तीको बोझबाट मुक्त हुने दिनको पर्खाईमा उनी छिन् । मोटर आएको उनको घरको दोबाटोमा अब भने उनको आफ्नै जीवनको पाटपूर्जा सर्भिसिङले पनि काम नगर्ने हुन थालिसकेको छ । आफ्नै आँखाअगाडि आफूभन्दा मुनिकाले मृत्युसँग नाता गासिकेका छन् । बुढेसकालको लाठी बन्ने आशा बोकेर मायाले हुर्काएको भदाका लागि सपना कोर्दै छिन् । समाजमा विकाससँगै अन्धविश्वासको मुद्दा पनि उठाएकी छिन् । जब गाई थारो हुन्छ जंगलमा लगेर छोडिन्छ । त्यसैगरी जब लोभ र लालचले जरा गाड्छ अनि मान्छे बोक्सी बनाइन्छ । यसरी एक्लोपन,समाजिक बेथिती र डेट एक्सपाएर हुनलाग्दा उत्तराधिकारी खोज्ने कान्छी तामाङ हाम्रो गाउँगाउँ र बस्ती बस्तीमा छन् । निबन्धकारले कथ्यात्मक शैलीमा अविवाहित महिलाले भोग्ने दुःखलाई भिन्नभिन्न कोणबाट प्रस्तुत गरिएको देखिन्छ ।
स्वप्निल अध्याय
स्वप्निल अध्याय सपना चकनाचुर भएको कथा हो । जीवनमा आउने बज्रपात हो । मानिस भएर जन्मेपछि जस्तोसुकै अवस्थालाई स्वीकार गर्न पर्ने रहेछ भनेर सम्झाउने पाठ हो । भूकम्पमा सर्वस्व गुमाएको पात्रको होस् उडेपछि थप बेहोसिन पिएको कारुणिक चित्र हो । ढुङ्गाकै मन हुनेहरूको पनि आँखाले सुसु गर्ने निबन्ध हो । सांसारिक जीवनमा आइपर्ने दुःखको पराकाष्ठा हो ।
सी. पी र विदरस्पुन
चित्रकलाको प्रसंगबाट सुरु भएको निबन्धले समापनमा मान्छेको क्रियाको माध्यमबाट दर्शन छोड्न सफल छ । युरेपिली मुलुकमा कला र कलाकारलाई गरिने सम्मानको कुराले हामी के गर्दै छौँ ? भन्ने प्रश्न जन्माउँछ । निबन्धकारले हाम्रा देशका केही रेष्टुरेन्टमा पनि चित्रकारितालाई प्रोत्साहन दिएको कुरादेखि नेपाली चित्रकारसँग चित्र दर्शन र चित्रवार्ता पनि निबन्धमा अटाउन खोजेकी छन् । निबन्ध चित्रबाट सुरु भएर चित्र जस्तै जिन्दगी बाँचेका पात्र सी.पीमा गएर टुंगिन्छ । निबन्धकारको चित्र मोहलाई जब सी.पीले प्रशंसाको दोसल्ला ओढाइदिन्छन् अनि जन्मिन्छ एउटा दर्शन । निबन्धाकारले जीवन भनेको भाग्नु हो, हामी सबै केही न केही कुराबाट भागिरहेका हुन्छौँ , भाग्नु हाम्रो नियति पनि हो र गुण पनि । भाग्दा भाग्दै एकदिन जिन्दगी भाग्नै नसक्ने हुन्छ । भाग्नु जिउनु पनि हो । सी.पीको पनि एक्लोपनबाट भागेर खुसी उमङ्ग जोगाइराख्न सक्ने कला हामीले सिक्नै पर्ने देखिन्छ । यसैले यो निबन्धलाई यो पाठकले चियर्स भन्न चाहन्छ ।
फहराइरहेको लुङ्दर
स्वयम्भूकम दुई नयनबाट हेरिएको दृश्य हो, यो निबन्ध । एकातिर स्वयम्भू कति शान्त छ, पवित्र छ । ती बाँदरका चकचक , गेरु वस्त्रका वृद्ध भिक्षु अनि अर्कोतिर काठमाडौँको ठेलमठेल भीड, रोगी र लालसी महत्वाकांक्षी शहर । मानव र जनावरको गुणको भिन्नताले आधुनिक युगलाई व्यङ्य गरेको छ । महिला पात्र आनी र पुरुष पात्र भिक्षुको माध्यमबाट आन्नद आध्यात्मिक चिन्तनमा छ भनेर पनि देखाउन खोजिएको लाग्छ । लेखकले यस निबन्धमा प्रचुर मात्रामा काव्यिक अभिव्यक्ति गरेकी छिन् । जसलाई पढ्दा पाठकले गुलियो चकलेट खाएको अनुभव गर्ने छन् । मन्त्र अंकित लुङ्दर फहराइरहँदा यस्तो लाग्छ ; ॐ माने पेम्बेको मन्त्र गायन भइरहेको छ । तासी देले ।
जलकुम्भी आदेश
आदेश एउटा यस्तो हतियार हो जसको प्रहारले न त घाउ लाग्छ , न घाइते भइन्छ तर त्यसको प्रहारले मान्छेको मन, स्वतन्त्रता , अस्तित्व र आत्मसम्मानमा अमिट चोट लगाएर जान्छ । पीडा , दुःख , यातना आदिको आदेश एउटा मार्मिक निबन्ध हो । आदेशको बन्धनबाट फुत्किएर स्वतन्त्रताको गीत गाउने अभिलाषा हो ।
उज्यालो अन्धकार
पुस्तकको शीर्ष निबन्ध उज्यालो अन्धकारले अँध्यारोमा उज्यालोको जीवनदर्शन बोकेको छ । शून्यता जरुरी छ किनकि शून्यता सुरुआत हो सिर्जनाको । निबन्धको यो पङक्तिले निबन्धलाई चिन्तनको गन्तव्यमा पु¥याउन खोजिरहेको छ । शून्य हुनु भनेको खाली हुनु पक्कै होइन, शून्य हुनु भनेको नयाँ बीजलाई विजारोपण हुन दिनु पनि हो । अन्धकारको शून्यताभित्र धेरै सम्भावनाका फूल फुलेका हुन्छन् । अन्धकार भएर नै तारा र चन्द्र हाँस्छन् । पारिजात मगमगाउन पाउँछ । अन्धकारभित्र एउटा तेजिलो उज्यालो हुन्छ भन्ने कुरा निबन्धकारले धेरै रसिलो शब्दमा व्यक्त गर्न खोजेकी छिन् ।
श्यामाश्वेत स्मृतिहरू
हामी सबैलाई बाल्यकालको मधुरो स्मृतिले भावविह्वल बनाउँछ । कति मीठा पल कति नमीठा सबै–सबै मनमस्तिष्कमा बसिरहन्छ । निबन्धकारको आफ्नो व्यक्तिगत घटना र परिघटनामा जीवनको एउटा पाटो देखाउन खोजेकी छन् । हामीलाई सबै कुरा याद हुन्न । याद त्यहीँ कुराको हुन्छ जो अनौठो छ , मीठो छ , तीतो छ वा डरलाग्दो छ । लेखकले पनि आफ्नो जीवनमा आफ्नो भाइ जन्माएको आमाको अवस्थालाई जसरी बाल मनोविज्ञानको क्यामराले फोटो खिचेर स्मृतिकार्डमा जम्मा गरेकी छिन् , त्यो रोचक छ ।
हिमानुभूति
हिमको अनुभव पक्कै पनि चिसो हुन्छ । चिसो सम्बन्धको अवस्थालाई उजागर गर्न खोजिएको छ । परदेशमा एउटै रूम सेयर गर्दा चिसिएको सम्बन्धबाट सम्बन्धका रंगहरूको चित्राङ्कन हो यो निबन्ध । चिसो चिसिइरहन मात्र सक्दैन । जुन दिन चिसोले अन्तिम विन्दु छुन्छ । चिसो फेरि बाफिनै पर्छ बाफिएपछि तात्नै पर्छ र सम्बन्धको तातोपनको आशा हो यो निबन्ध ।
ती कोठाहरूमा अल्झिएको मन
हामी जब कुनै पनि कुरासँग जोडिन्छौँ । त्यो कुरालाई टाटा गर्न हाम्रो मनले सजिलै मान्दैन । मन हो । जोडिएपछि छुट्न सजिलै सक्दैन । आफ्नो कोठा सर्ने क्रममा लेखकको मनलाई अशान्त बनाएको कुरालाई निबन्धमा उतारिएको छ । मन , राग र समयको मागभित्र रुमलिएको यो निबन्ध एटेचमेन्टको दृष्टान्त हो ।
मृत्यु मन्थन
मानिसको अन्तिम लक्ष्य मृत्यु नै हो । मृत्यु बारे आ–आफ्नै बुझाइ र भोगाइ हुन्छ । अकाट्य सत्यको चिन्तन जताबाट गरे पनि अपुरै रहन्छ । मृत्युपश्चात् के हुन्छ ? यो रहस्यमय नै छ । निबन्धकारले यहाँ मृत्यु पनि वर्गीय हुन्छ भनेर देखाउन खोजेकी छिन् । कसैको मृत्यु उत्सव बन्छ भने कसैको मृत्यु मृत्युभन्दा अझै डरलाग्दो बन्छ । कोरोनाकालमा मृतकको लास दाहसंस्कार गर्न पनि पैसा तिर्नपर्ने नारायणघाटको घटनालाई यसले सम्झिन बाध्य गराउँछ । मृत्युलाई निबन्धकारको आँखाले हेरेको यो कुरूप सत्यले झसङ्ग बनाउँछ ।
उज्यालो अन्धकारको निबन्धले हाम्रो समाज ,संस्कृति, मूल्यमान्यता, परम्परा, राजनीति, दर्शन, भूगोल आदिको माध्यमबाट वर्तमान समयको चित्र कोर्न सफल भएको छ । काव्यात्मक शैलीमा लेखिएकाले भाषा सुरम्य लाग्छ । मानिसका दुःखलाई अलि बढी केन्द्रित गरिएको छ । सबै निबन्ध छोटोछरितो भएकोले पाठलाई बोरिङ गराउने छैन । निबन्धका शैली एकैनास भएकोले केही कमी महसुस हुन सक्छ । कति निबन्धमा प्रसङ्ग जबर्जस्ती घुसाएको जस्तो पनि लाग्न सक्छ । निबन्धको लेखन घट्दै गइरहेको वर्तमान साहित्य क्षेत्रमा यो एउटा संग्रहणीय पुस्तक बनेको छ ।
निबन्धकार: कुमारी लामा
कृति: उज्यालो अन्धकार
प्रकाशन गृह: अक्षर क्रिएसन्स नेपाल
पृष्ठ: २०९.
मूल्य रू: ३९०/–