Shittalpati
गाईजात्रे राजनीति कहिलेसम्म ?

दुर्गा प्रसाद अर्याल

नेवारी भाषामा सापारु भनिने गाईजात्रा पर्व रक्षा बन्धन अथवा जनैपूर्णिमाको अर्को दिन अथवा भाद्र प्रतिपदाको दिन यो पर्व मनाईन्छ । आज देशभर यो जात्रा मनाइदै छ । विशेष गरेर नेवार समुदायले मनाउने गाइजात्रा पर्वले उक्त समुदाय लगाएत सबै नेपालीमा धार्मिक, साँस्कृतिक, मनोरञ्जन र आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धनको दृष्टिकोणले महत्व राखेको पाईन्छ । पुत्र वियोगमा छटपटाइ रहेकी आफ्नी रानीलाई सान्तोना दिन राजा प्रताव मल्लले यस पर्वको सुरुवात गरेको इतिहासमा भेटिन्छ । राजा प्रताव मल्लको साशनकाल भन्दा करीव ३०० वर्ष पहिले देखि नै यो पर्वको सुरुवाद भएको थियो भन्ने भनाई कतै कतै पढ्न पाईन्छ । नेपाली जनमा यस पर्वको महत्व विशिष्टि र फरक छ भने नेवार समुदायमा सिमित रहेको यस पर्व आजभोली अन्य क्षेत्र, जाती, भाषा र धर्मका समुदाय बिच पनि उत्तिकै महत्व रहेको पाईन्छ । मृत आत्माको शान्तीको कामना गदै यो पर्व मनाउने गरिन्छ । हिन्दु धर्मालम्वीका लागि गाई पवित्र जनावर हो । विशेष गरेर यस पर्वमा गाईको पूजा गरिन्छ । कतै जिवित गाईलाई त कतै गाईको प्रतिमा बनाई शहरमा परिक्रमा गर्ने चलन रहेको पाईन्छ । उक्त पर्वमा धनी वा गरीव जुनसुकै परिवारमा एक वर्ष भित्र मृत्यु भएका आफ्नो परिवारको सदस्यको सम्झनाका हरेक घरहरुबाट कुनै कुनै रुपमा आफ्नो हैसियत अनुसार सहभागिता जनाएको पाईन्छ । आजभोली हास्यव्याङग्य विषयले प्राथमीकता पाएको यस पर्वमा प्रहसन, नाटक तथा विभिन्न व्याङग्य आदि प्रस्तुत गर्ने चलन पनि पाईन्छ । नेपालमा वर्ष भरी विभिन्न क्षेत्रमा घटेका विकृति र विसंगतीहरु यस पर्वमा समावेश हुने गरेको पाईन्छ । धर्म, संस्कृतिले महत्व राखेको पर्वलाई हामी गाइजात्रा भन्दछौ भने जताततै विग्रेको र भत्ताभुग भएको अवस्थालाई गाईजात्रे अवस्था भनिन्छ । सरकारमा समावेश भएको राजनितिक दल र बाहिर रहेका राजनितिक दलले सत्ता र कुर्सीको लागि बाह्रै महिना गाईजात्रे व्यवहार देखाउदै देशलाई अस्थिरता र व्यवस्था नै असफल बनाउने खालको गाईजात्रे खेल चलिरहयो । यसर्थ परम्परागत गाईजात्राको मात्र नभएर राजनैतिक दलका गाईजात्रे क्रियाकलापको चर्चा परिचर्चा यहाँ गर्न खोजिएको छ ।

देशका राजनीतिक दल र नेताहरुको कार्यशैली सत्ता र कुर्सीको लागि जस्तो सुकै हर्कत गर्न पनि पछि नपरेको देख्दा यहाँ बाह्रै महिना गाईजात्रा चलिरहेको भान भने पक्कै गराउँदो रहेछ । हास्यकलाकारले गर्ने कार्य नेपाली नेताले गरिरहेका छन् । अभिनय पनि राम्रै गरिरहेकाले एकातिर कलाकारहरुको रोजीरोटी गुम्ने सम्भावना देखिन्छ भने अर्को तिर हास्यव्यङग्य र गाइजात्राको प्रहसन हेर्न गाईजात्रानै कुर्नुपर्ने अवस्थाको अन्त्य भएको हो की भन्ने महसुश गराएको पाईन्छ । पहिलो संसद विघटन पछि नेकपाका दुई समूह सत्ता पक्ष ओली समूह र प्रतिपक्ष ( प्रचण्ड, माधव, झलनाथ) बिचको आरोपप्रत्यारोपको नाटक र नौटङकीबाट सुरुभयो यो वर्षको गाईजात्रे प्रहसन । यो प्रहसनले कोरोनालाई नै विर्साइदियो । ओलीको दम्भ,घमण्ड र माधव कुमार नेपालको अपमानको गाईजात्रे श्रृखला बालकोटको बार्दली र समाजवादी पार्टी गठनमा पुगेर तत्कालका लागि रोकिएको छ । आफू खूसी संसद विघटन भयो । यसले देशमा अस्थिरता ल्यायो जनताले चुनाव बाहेक केहि पाएन्न र सानातिना राजनीतिक दलहरु अत्याधिक भए पटक –पटक दलहरु विभाजन भइरहे भनि संविधानमा नै दल विभाजन र थेरेस होल्डको व्यवस्था तीनै राजनीतिक दलहरु मिलि संविधानमा लेखाए अथवा प्रावधान राखियो तर त्यही संविधानको व्यवस्थालाई कुल्चदै पटक–पटक संसद विघटनको, नहुने चुनावको मिति घोषणाको र अध्यादेशको गाईजात्रा चलिरहयो यो देशमा । आफू अनुकुल निर्णय गर्न पाईएन भनेर जनताले निर्वाचित गराएर पठाएका, जनताका प्रतिनिधि, जनताको आवाज बोल्ने संसदको नियमित बैंठकलाई रातारात अन्त्य गरी अध्यादेश जारी गर्ने खेलोले ओली सरकारमा प्राथामिकता नै पायो तर यो अध्यादेशको गाईजात्रे खेलोे देउवा सरकारमा पनि प्राथामिकता नै पायो ।

यो गाईजात्रे श्रृखला केन्द्रमा र तत्कालीन नेकपामा मात्र सिमित रहेन नेपाली काँग्रेस र मधेशी दलमा पनि निरन्तरता पाईरहयो । काँग्रेसमा रामचन्द्र र शेरबहादुर बिच शक्ति बाडफाडको गाईजात्रा चलिरहयो । यो श्रृखला काँग्रेसको महाधिवेशन सम्पन्न नहुँदासम्म चलिरहने देखिन्छ । मधेशी दलभित्र महन्त ठाकुरलाई दलविहिन नबनाउँदासम्म यो गाईजात्रे ताल चलिरहयो । ओली सरकारमा मन्त्री परिवर्तनको तिव्रताले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई नै विर्साइदियो । सत्ता परिवर्तन र सासद खरीद विक्रीको गाईजात्रा केन्द्रमा मात्र सिमित रहेन यो त प्रदेश प्रदेशमा चलिरहयो धन्न स्थानीय तहमा सरकार परिवर्तनको प्रावधान रहेन्छ नत्र जनताले घर आगनमै नेता किनबेच र सरकार परिवर्तनको गाईजात्रा देख्न परेन ।

कोरोना कहरको दोस्रो लहरमा विरामीले अक्सिजन नपाउने,पहुचवालाका घर–घरमा अक्सिजनका सिलिडरका गोदा मै हुने । अस्पतालमा पहुँचवाला बाहेक सर्वसाधरणले बेडनै नपाउने मनपरी र अस्पताल अनुसार फरक फरक शुल्क सरकारले नदेखे झै गर्ने अस्पताल स१चालकले बर्मलुट गर्ने गाइजात्रे श्रृखलाले महामारीको अप्ठयारो स्थितिमा पनि प्राथमिकता पाइरहयो । अक्सिजनका सिलिन्डर ,सेनिटाइजरमा स्टीकर टास्ने र मतदातालाई प्रभाव पार्ने भोटको राजनीतिको जात्रा चलिरयो । रुखलाई हामीले अक्सिजन दिन्छौ रुखले हामीलाई कार्वनडाइअक्साइड दिन्छ..., लास जलाउन दाउराको अभाव हुँदैन, कुनै माइकालाल...,श्री ५ को सरकार लगाएतका मन्त्रीका तल्लोस्तरका भाषणले एकातिर हाम्रा मन्त्रीहरु माथि बौद्धिकताको प्रश्न चिन्ह खडा गर्‍यो भने सञ्चार माध्ममा यसले गाईजात्रा नै बनायो ।

विकास योजनाहरुको कार्यान्वयनमा यो गाइजात्रे तालले निरन्तरता पाइरहयो असारे विकास र कागजी विकासले गणतन्त्रमा साथ पाइरहयो । विकास बजेट खर्च हुन नसकेर फ्रिज हुने तर जनताले विकासको अभावमा कष्टकर दैनिकी बिताउनु पर्‍यो । विकास योजनाका ५ सय ७६ ठेक्का अलपत्र परे । कानुनको पालना नगरी सरकारी ढुकुटी खर्च गर्ने /नीतिगत भष्ट्राचार गर्ने /रकमान्तरण गर्ने कार्यले तिव्रता पायो । नियमविपरीत गरिएको कुल खर्च ६ खर्ब भन्दा बढी रहेको तथ्याक देखिन्छ भने प्रदेश र स्थानीय तहको यस्तो खर्च समावेश गर्ने हो भने तथ्याक कहालीलाग्दो देखिन्छ । सम्पन्न नहुँदै भत्किने विकास निमार्ण र सम्पन्न नहुँदै उद्घाटनको गाइजात्रे तालले प्राथामिकता पायो । विकास गर्न असारकै महिना कुर्नु पर्ने, विकास बजेटको औषतमा २३ प्रतिशत खर्च असार महिनामा हुनु, असारको अन्तिम हप्ता ३१ ऋर्ब ३९ करोड रकमान्तर र बेरुजुको अवस्था झन झन बढ्दै जानुले हाम्रो आर्थिक प्रणालीको गाईजात्रे अवस्थालाई देखाएको पाईन्छ । हिमाल, पहाड, तराई सातै प्रदेश र सबै जातीको यो वर्षको गाईजात्राले सबै विकृत्ति र विसंगती अन्त्य गर्दै हासो र खुशी छाओस । देश भित्रको विकृति ,विसगति, भष्ट्रचार तथा गैरकानुनी क्रियाकलापको भण्डाफोर होस् भने राम्रा र अनुकरणी कार्यको राजनीतिक पूर्वाग्रह नराखी प्रशसा होस् । परिवारका सदस्यको मृत्युले निराशा र शोकमा परेका परिवारमा शक्ति प्रदान गर्ने वातावरण तयार होस् । नेपालका राजतितिक दल र शासन प्रणालीमा पटक पटक देखिने गाईजात्रे क्रियाकलापको अन्त्य होस् । जताहेर्‍यो, जुनक्षेत्र हेर्‍यो बेथिती र विकृतिले भरिएको अवस्थाको अन्त्य होस । हरेक क्षेत्रमा सुशासनको अभ्यास होस् । कलाकार र सञ्चार माध्यमले व्यंग्य र आलोचना गर्ने ठाउँ नपाउन । कोरोना कहरका बिचको गाई जात्रा २०७८ को शुभकामना सबैमा ।

(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update