Shittalpati
पाल्पामा पनि सुरु भयो गाईजात्रा

पाल्पा, आज पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइँदै छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाउन लागिएको हो ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण घरपरिवारका व्यक्तिहरु मात्र जम्मा भएर तानसेनमा गाईजात्रा मनाउदै छन् । विशेष गरी नेवार समुदायले मनाउने यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्छ । गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ । मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ । तानसेनमा सोमबार विभिन्न टोलबाट निकालिएको गाईजात्राका सहभागीले शितलपाटी, टक्सारटोल, बसन्तपुर, भगवतीटोल, मखनटोल, लगायत मुख्य बजार क्षेत्र परिक्रमा गरेका छन् ।

यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ । तर यसपालि पनि कोरोना महामारीका कारण जात्रामा पहिलेजस्तो रौनक भने छैन । पातलो संख्यामा निस्किएका जात्राका सहभागीहरू मास्क र स्यानिटाइजर प्रयोग गरिरहेका छन् । गाईजात्रा पाल्पामा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । यहाँ सो पर्वको औपचारिक सुरुआत जनैपूर्णिमाको साँझबाट नै हुन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update