Shittalpati
पाल्पामा गाईजात्रा: महामारीकै बीच धानिँदै परम्परा

पाल्पा, पाल्पा लगायत देशभर गाईजात्रा पर्व मनाइएको छ । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्गय र ख्यालठट्टासहित सोमबार पाल्पाको तानसेनमा पनि गाईजात्रा (साँपारु) पर्व मनाइएको हो ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण घरपरिवारका व्यक्तिहरु मात्र जम्मा भएर तानसेनमा गाईजात्रा मनाइएको छ । विगतका वर्षमा जस्तो जात्रा हेर्न मानिसको भीडभाड नभए पनि थोरै मानिसको उपस्थितमा गाईलाई दूधदही फलफूल खुवाएर गाईजात्रा मनाइएको हो । कोरोना जोखिम कायम हुँदाहुँदै पनि परम्परा संस्कृति जगेर्ना गर्ने उद्देश्यले गाईजात्रा निकालिएको तानसेन टक्सार टोलका लालकाजी शाक्यले बताए । निगुर्ण रामायण गाउँदै आफन्त इष्टमित्र सहित दिवंगत घरबाट गाईजात्रा निकाल्ने परम्परालाई परिवर्तन गर्दै घरपरिवारको सहभागितामा मात्र तानसेनमा केही परिवारले गाईजात्रा निकालेका हुन ।

विगतमा हरेक वर्ष यसदिन यहाँ गाईजात्राको छुट्टै रौनक हुने गर्दथ्यो । गाईको प्रतिक बनाएर टोल टोलबाट निस्कने जात्राको भिडले बाटो हिँड्नसमेत गाह्रो हुन्थ्यो । यहाँ दिवंगत आफ्न्तको सम्झनामा मानिसलाई गाईको प्रतिक बनाएर नगरपरिक्रमा गर्ने परम्परा धेरै पुरानो हो । युवायुवती, बुढापाका मात्र होइन साना–साना बालबालिका पनि विभिन्न खालका वेषभूषामा फरक–फरक रुप धारण गरी बाजागाजासहित सडकमा परिक्रममा गर्दा हेर्नेहरूको भिड हुने गर्दथ्यो तर कोरोनाका कारण यो वर्ष भने तानसेनमा घरपरिवारका व्यक्तिहरु मात्र जम्मा भएर गाईजात्रा निकालिएको शाक्यले बताए ।

परिवारका आठ–दश जना सदस्यहरुको उपस्थितीमा गाईजात्रा निकालिएको उनको भनाई छ । ‘गाईजात्रा यो वर्ष कति मान्छे मरेछ भन्ने देखाउने पर्व पनि हो, उनले भने, ‘ यस पटक स्थानीय प्रशासनले साँस्कृतिक कार्यक्रम भीडभाड नहुनेगरी गर्न अनुरोध गरेकाले परम्परा धान्ने हिसावले मात्र जात्रा मनाएका हौँ ।’

जात्राको रौनक कोरोनाले खोसेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले बताए । कोरोनाका कारण गत वर्षदेखि तानसेनका जात्राहरुको रौनक हराएको उनको भनाई छ । ‘विगतका वर्षहरूमा गाईजात्राको दिन मरेको मान्छेको घरबाट गाई निकालेर बाजागाजासहित गाईको स्वरूप बनाई बजार परिक्रमा गर्ने गरिन्थ्यो । तर अहिले कोरोना संक्रमणका कारण धेरै भिडभाड नगरी संस्कृति–पराम्परा जोगाएका छौँ’ देउरालीले भने । प्रशासनको निषेधाज्ञाका कारण परिवारबाहेक नातेदारलाई सहभागी नगराई गाईजात्रा निकालिएको उनले बताए ।

विशेष गरी नेवार समुदायले मनाउने यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्छ । गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ । मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ । तानसेनमा सोमबार विभिन्न टोलबाट निकालिएको गाईजात्राका सहभागीले शितलपाटी, टक्सारटोल, बसन्तपुर, भगवतीटोल, मखनटोल, लगायत मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए । यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update