रामचन्द्र रायमाझी
पाल्पा, विश्वभर फैलिएको कोरोना महामारीका कारण विगत दुई वर्षदेखि धार्मिक तथा सांस्कृतिक क्षेत्रमा समेत ठूलो असर पुगेको छ । संक्रमणका कारण विगतका वर्षहरुमा मनाइने चाडपर्व, मेला, महोत्सव, जात्राहरुको रौनक हराउदै गएको छ । अहिले परम्परा धान्नकै लागि सिमित व्यक्तिहरुको उपस्थितीमा यी पर्वहरु मनाउने गरिएको पाइन्छ । साउन, भदौ महिना जात्राको महिना पनि हो । जनैपूर्णिमाको अर्को दिनदेखि पाल्पा सहित देशभर नेवार समुदाय रहेको ठाउँहरुमा गाई जात्रा, रोपाइँ जात्रा, बाघ जात्रा लगायतका जात्राहरु निकाल्ने प्रचलन रहेको छ । यस वर्ष पनि सोमबार गाईजात्राका दिनदेखि जात्रा पर्वहरु सुरु भएका छन् । गत वर्ष कोरोनाका कारण ठप्पै बनेका जात्राहरु यस वर्ष भने औपचारिकतामा सिमित रहेका छन् । परम्परा धान्नकै लागि भए पनि पाल्पाको तानसेनमा सोमबार गाईजात्रा निकालिएको छ ।
विगतमा हरेक वर्ष यसदिन यहाँ गाईजात्राको छुट्टै रौनक हुने गर्दथ्यो । गाईको प्रतिक बनाएर टोल टोलबाट निस्कने जात्राको भिडले बाटो हिँड्नसमेत गाह्रो हुन्थ्यो । यहाँ दिवंगत आफन्तको सम्झनामा मानिसलाई गाईको प्रतिक बनाएर नगरपरिक्रमा गर्ने परम्परा धेरै पुरानो हो । युवायुवती, बुढापाका मात्र होइन साना–साना बालबालिका पनि विभिन्न खालका वेषभूषामा फरक–फरक रुप धारण गरी बाजागाजासहित सडकमा परिक्रममा गर्दा हेर्नेहरूको भिड हुने गर्दथ्यो तर कोरोनाका कारण यो वर्ष भने तानसेनमा घरपरिवारका व्यक्तिहरु मात्र जम्मा भएर गाईजात्रा निकालिएको छ । परिवारका आठ–दश जना सदस्यहरुको उपस्थितीमा गाईजात्रा निकालिएको तानसेन टक्सारटोलका लालकाजी शाक्यले बताए । गाईजात्रा यो वर्ष कति मान्छे मरेछ भन्ने देखाउने पर्व पनि हो, उनले भने, ‘यस पटक स्थानीय प्रशासनले साँस्कृतिक कार्यक्रम भीडभाड नहुनेगरी गर्न अनुरोध गरेकाले परम्परा धान्ने हिसावले मात्र जात्रा मनाएका हौँ ।’ जात्राको रौनक कोरोनाले खोसेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले बताए । कोरोनाका कारण गत वर्षदेखि तानसेनका जात्राहरुको रौनक हराएको उनको भनाई छ । ‘विगतका वर्षहरूमा गाईजात्राको दिन मरेको मान्छेको घरबाट गाई निकालेर बाजागाजासहित गाईको स्वरूप बनाई बजार परिक्रमा गर्ने गरिन्थ्यो । तर अहिले कोरोना संक्रमणका कारण धेरै भिडभाड नगरी संस्कृति–पराम्परा जोगाएका छौँ’ देउरालीले भने । प्रशासनको निषेधाज्ञाका कारण परिवारबाहेक नातेदारलाई सहभागी नगराई गाईजात्रा निकालिएको उनले बताए ।
विशेष गरी नेवार समुदायले मनाउने यो जात्रा पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्छ । गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ । मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ । तानसेनमा सोमबार विभिन्न टोलबाट निकालिएको गाईजात्राका सहभागीले शितलपाटी, टक्सारटोल, बसन्तपुर, भगवतीटोल, मखनटोल, लगायत मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए । पाल्पामा हुने रोपाइँ जात्रा, बाघ जात्राहरु पनि कोरोनाका कारण औपचारिकतामा सिमित हुने देखिएको छ ।