पाल्पा, पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा निकालिएको छ । कोरोना कहरका कारण न्यून मानिसहरुको सहभागितामा बुधबार बाघजात्रा निकालिएको हो ।
बाघको स्वरुपमा तानसेनका युवाहरु सडकमा निस्किएका थिए । बाघ जात्राको दिन युवाहरु बाघको विभिन्न आकृतिहरुमा सडकमा निस्किएका हुन् । बाघका आकृति सहितका युवाले बाजा बजाएर नगर परिक्रमा गरेका थिए । प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट बाघ जात्रा मनाइने गरिन्छ । परापूर्वकालदेखि मनाइदै आइएको बाघजात्रा पछिल्ला वर्षहरुमा भने हराउँदै गएको छ । जात्राको उजागर, संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले कोरोना कहरका बिच जात्रालाई निरन्तरता दिइएको हो ।
परापूर्वकालमा बाघको आतंकले तानसेनवासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको तानसेनवासीहरुको भनाई छ । केही समय अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भए पनि देखाउने गरिएको छ । गत वर्ष कोरोना महामारीका कारण ठप्पै रहेका यहाँका जात्राहरु यस वर्ष भने सरकारले स्वास्थ्य मापदण्डको पालना गरी न्यून संख्यामा मनाउन आग्रह गरेको छ । काठमाडौंपछि सबैभन्दा बढि जात्रा मनाइने सहरका रुपमा मानिने पाल्पामा जनैपूर्णिमाको दिनदेखि लगातार ९ दिनसम्म विभिन्न जात्राहरु मनाउने गरिन्छ ।