पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा श्रीनगर सिद्धि विनायक गणेशको वार्षिकी रथयात्रा निकालिएको छ । कोरोना महामारीका बिच परम्परा धान्नकै लागि बुधबार गणेशको वार्षिकी रथयात्रा निकालिएको हो ।
श्रीनगर सिद्धि विनायक गणेश गुठीले न्यून मानिसहरुको सहभागितामा रथयात्रा निकालेको हो । विगतका वर्षहरुमा तामझामकका साथ निकालिने गणेश जात्रा यस वर्ष भने कोरोना महामारीका कारण केही व्यक्तिहरुको सहभागितामा निकालिएको हो । यो जात्रा हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ । जिल्लामा नेवार समुदायले पहिला गणेशको पूजा गरेर मात्रा अन्य देवी देवताको पूजा गर्ने प्रचलन रहेको छ । गुठीले गणेशको रथलाई बाजागाजा सहित नगर परिक्रमा गराएको थियो ।
नेवार समुदायको परम्परागत संस्कृतिलाई बचाई राख्न हरेक वर्ष गणेशको रथ निकाल्दै आएको गुठीयार हिमालदत्त श्रेष्ठले बताए । गणेशको रथयात्रा निकालेपछि मात्रा अन्य रथहरु निकाल्ने प्रचलन रहेको उनको भनाई छ । नेवारी समुदायमा जनैपूणिदेखि जात्राहरु सुरु भएपनि गणेशको रथ यात्रा निकालेपछि मात्र अन्य रथहरु निकाल्न बाटो खुला भएको श्रेष्ठले बताए । गणेशको रथयात्रा गर्ने प्रचलन वि.सं. १९८१ बाट प्रारम्भ गरिएको थियो । गणेश जात्रामा पहिला भगवानलाई पूजा गरी बोकाको बलि दिइने र प्रसादको रूपमा जाग्राममा बस्नेहरूलाई सम्हयबजी बाँडिने भएपनि हिजोआज भगवान श्रीगणेशलाई बलि नचढाइने जानकारहरू बताउँछन् ।