Shittalpati
बगनासकालीमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा


पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाको स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रम गरेको छ । शाखाले आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुले गरेका कार्यक्रम, योजना तथा गतिविधिका विषयमा समीक्षा गरेको हो ।

समीक्षा कार्यक्रममा स्वास्थ्य शाखाले उक्त आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेको बताएको छ । गाउँपालिकाले कोरोना महामारीका बेला गाउँपालिका भित्रका नागरिकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी कोभिड अस्पताल सञ्चालन गरी निःशुल्क उपचार सँगै सचेतनाका कार्यक्रमदेखि स्वास्थ्य उपचारका क्षेत्रमा बढी केन्द्रित हुनुपरेको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मणीराम अधिकारीले बताए । उनले गत आर्थिक वर्षमा २८ हजार बढी नागरिकलाई स्वास्थ्य सेवा दिएको,गाउँपालिकालाई पूर्णखोप तथा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता गरिएको, सबै सुत्केरी महिलालाई यातायात तथा पोषण प्रोत्साहन रकम वितरण गरिएको बताए ।

यस्तै गर्भवती र उनका अभिभावक बीच स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रम गरिएको , गाउँपालिका भित्रका स्वास्थ्य आमा समूहको गठन गरी सक्रिय बनाइएको, सुत्केरीलाई घरमा नै स्वास्थ्य परीक्षण गरिएको, कोरोना शंका लागेका नागरिकहरुको निःशुल्क एन्टिजेन र पिसिआर परीक्षण गरिएको, दिर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले कोरोना महामारीका बेला गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि थप उच्च मनोवलका साथ स्वास्थ्य क्षेत्रमा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी, परिवार नियोजन अधिकृत प्रभास पन्थी र तथ्याङ्क अधिकृत विपिन पञ्जियारले कार्यक्रमको समीक्षा सहित सुझाव दिएका थिए । कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख गुनाराम खनालको अध्यक्षता, स्वास्थ्य शाखाकी सि.अ.न.मी. सीता गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update