पाल्पा,नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवती जात्रा आज निकालिदै छ । कोभिड–१९का कारण जोखिम बढ्दै गएपछि ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मन्दिर परिसरमै मात्र निकालिने भएको हो ।
मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर यस वर्षको रथ निकालिने भगवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा विजयोत्सव गत वर्ष पनि मन्दिर परिसरमै रथ घुमाएर मनाइएको थियो ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी परम्परा र इतिहास नटुटोस् भनी मन्दिर परिसरमा मात्र जात्रा सञ्चालन गरिने समितिका अध्यक्ष राजेश्वर उदयले बताए । विभिन्न पक्ष, नागरिक समाज, धार्मिक तथा साँस्कृतिक तहबाट कोरोनाको सावधनी अपनाएर विधि र परम्परा जोगाउनु पर्ने आवाज उठिरहेको समयमा आवश्यक व्यक्तिहरुको सहभागितामा मन्दिर परिसरमै भगवती जात्रा मनाउन लागिएको हो ।
सर्वसाधारण आम नागरिकहरुमा इतिहास तोडिने भो परम्परा हराउने भो भन्ने चिन्तालाई मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसर भित्रै रथ घुमाएर परम्परालाई जीवित बनाएको संस्कृतिकर्मी राजेन्द्र गोपाल सिंहले बताए । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी भगवतीको विजय उत्सवको रुपमा रहेको रथलाई ३ पटक मन्दिरको परिक्रमा गराउने, नेपाल सरकारको तर्फबाट जिल्ला प्रशासन, नेपाली सेना, प्रहरी तथा तानसेन नगरपालिकाको तर्फ पुजाआजा सलामी दिइसकेपछि सर्वसाधारण नागरिकको नाममा पुनः ३ पटक मन्दिर घुमाएर विर्सजन गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।
वि.स. १८७१ देखि १८७२ सम्मको अंग्रेजसँगको युद्वमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झना स्वरुप वि.स. १८७६ देखि यो विजयोत्सव मनाउन थालिएको हो । तत्कालीन कर्णेल उजिरसिंह थापाको कमाण्डमा रहेका नेपाली सेनाले जितगढी नुवाकोट युद्वमा विजय प्राप्त गरेको थियो । विगतको समयमा कुमाल समुदायबाट विजयोत्सवको रथ बजार परिक्रमा गराउने परम्परा भएपनि यसपटक नेपाली सेनाले मात्र रथ मन्दिर वरीपरी घुमाउने छ ।
विगतमा भगवती जात्रा हेर्नका लागि गाउँ–गाउँबाट मानिसहरुको चहल–पहल हुने गरे पनि गत वर्षदेखि भने कोरोना महामारीका कारण नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सानो टुकडी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, केही जनप्रतिनिधि र केही सर्वसाधारणको सहभागितामा जात्रा निकालिने गरिएको छ ।