Shittalpati
पाल्पामा कोरोना संक्रमित घटे, सक्रिय संख्या ७२

पाल्पा, जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । केही दिन यता नयाँ संक्रमित नथपिएको र संक्रमितहरू निको हुने क्रम बढेसँगै जिल्लामा संक्रमित घटेका हुन् ।

परीक्षणको आधारमा संक्रमितको संख्या ओरालो लाग्ने क्रममा छ । पछिल्ला २४ घण्टामा पनि संक्रमितको दर भन्दा निको हुनेको दर बढी देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ५२ जना संक्रमित निको भएका छन्, भने ६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २९ जना महिला र २३ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका १२, माथागढी गाउँपालिकाका ६, रामपुर नगरपालिकाका १२, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका ४/४, बगनासकाली गाउँपालिकाका १२ र निस्दी गाउँपालिकाका २ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ३ सय ८८ पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा २३ जनाको परीक्षण गरिएकोमा २ जना महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ५ जना र रैनादेवी छहरा गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ६८ पुगेको छ । जसमा २ हजार ३ सय २४ महिला र ३ हजार ७ सय ४४ जना पुरुष रहेका छन् ।

बुधबार एन्टिजेन परीक्षण भने एक जनाको पनि भएको छैन । अहिलेसम्म जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ६ सय १० पुगेको छ । जसमा १ हजार ८ सय ६७ जना महिला र १ हजार ७ सय ४३ जना पुरुषमा संक्रमण देखिएको हो । यहाँ अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितकोसंख्या ७२ पुगेको छ । जसमा ४३ जना होम आइसोलेसनमा रहेका छन् भने २९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update