पाल्पा, पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ । अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालनका निम्ति एक करोड ५० लाख बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नहुँदै प्लान्टको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए । तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजन प्लान्टका लागि एक करोड ५० लाख तथा सघन उपचार केन्द्र कक्ष र भेन्टिलेटरका लागि तीन करोड बजेट अर्थ मन्त्रालयबाट सुनिश्चित भएपछि ठेक्का लागेको थियो ।
अक्सिजन प्लान्ट राख्ने ठाउँ नहुँदा समय लागेको हो । अहिले अक्सिजन प्लान्ट राख्ने भवन निर्माण कार्य पूरा भएको छ । भवन निर्माण र अक्सिजन उत्पादन गर्ने मेसिन उधारोमा खरीद गरी सञ्चालन गर्न लागिएको अध्यक्ष पाण्डेयले बताए । जिल्लामा निषेधाज्ञा फितलो भएसँगै कोरोना संक्रमणको दर बढ्दै गएको छ । अक्सिजन प्लान्ट जडानका निम्ति चाहिने विद्युतलगायतका अन्य साम्रगी प्राप्त भएमा एक हप्तामै अक्सिजन उत्पादन कार्य सुरु हुने प्राविधिक देवेन्द्र श्रेष्ठले बताए । पाल्पामा पहिला पहिला अक्सिजन अभाव भएपछि बुटबल तथा चितवनसम्म जानुपर्ने बाध्यता रहेको थियो । अक्सिजन प्राप्तिको निम्ति सर्वसाधारण नागरिकले बिरामीको उपचारका निम्ति सास्ती खेपेका थिए । पाल्पा अस्पताललगायत अन्य अस्पतालमा उत्पादित अक्सिजनले पाल्पामा अब अक्सिजनको अभाव नहुने अस्पतालका मेसु जगदीश कँुवरले बताए । –रासस