कृष्ण पोखरेल
पाल्पा, पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । स्वीकृत पाएको साढे ३ महिनाको अवधिमा जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो । संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले गत जेठ ४ गते नै अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने मेसिनहरु खरिद गरि प्लान्ट सञ्चालनमा ल्याइएको अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताए । उनले भने‘हाम्रो जिल्लाको लागि निकै खुसीको कुरा हो ।
भर्खरै सञ्चालन भएको अक्सिजन प्लान्टबाट दैनिक ५० वटा सिलिण्डर भर्न सकिने अस्पालमै अक्सिजन प्लान्ट सञ्चालन भएपछी जिल्लाका ठूला अस्पतालदेखी १० वटै पालिका र घर–घरमा अक्सिजन सेवा दिन सकिने छ ।’ प्लान्टबाट प्रति मिनेट ४ सय २० लिटर अक्सिन उत्पादन हुने, बुस्टरबाट प्रति २० मिनेटमा १ वटा सिलिण्डर भर्न सकिने, प्रति घण्टा ३ वटाका दरले १६ देखी १७ घण्टामा अधिकतम ५० वटा सिलिण्डर अक्सिजन भर्न सकिने इञ्जिनियर देवेन्द्र श्रेष्ठले बताए । अक्सिजन उत्पादनका लागि प्रति घण्टा ४० युनिट विद्युत लाग्ने इञ्जिनियर श्रेष्ठले बताए । हाल पाल्पामा ५.५ किलो वाटको बुस्टर सञ्चालनमा रहेको यो भन्दा बढी उत्पादनका लागि ११ किलोबाटको बुस्टर जडान भएमा प्रति दिन १ सय वटा सिलिण्डर अक्सिजन भर्न सकिने इञ्जिनियर श्रेष्ठले बताए । कोभिड १९ को दोस्रो भेरियेन्टमा अक्सिजन अभावका कारण उपचारमा निकै कठिनाइ भएको अस्पतालका निमित्त मेडिकल सुपरिडेण्ट डा. जगदीश कुवँरले बताए । अक्सिजन अभावका कारण कयौं विरामीहरुलाई बाध्यताबस फिर्ता गर्नुपर्ने अवस्था थियो ।
अबका दिनमा भने सिधै प्लान्टबाट अस्पतालका बेडमा विरामीलाई अक्सिजन दिन सकिने सुविधा पाल्पा अस्पतालमा रहेको डा. कुवँरले बताए । पाल्पामा हालसम्म कोभिड १९ को सक्रमणबाट २ सय १८ जनाको मृत्यु भएको दोस्रो भेरियेन्टमा मात्र १ सय ८० जनाको मृत्यु भएको छ ।