Shittalpati
पाल्पामा थप १४ संक्रमित कोरोनामुक्त

पाल्पा,जिल्लामा पछिल्ला २४ घण्टामा थप १४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ८ जना महिला र ६ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका १०, रामपुर नगरपालिकाका १,पूर्वखोला गाउँपालिकाका ३ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ४ सय २५ पुगेको छ ।

जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । केही दिन यता नयाँ संक्रमित नथपिएको र संक्रमितहरू निको हुने क्रम बढेसँगै जिल्लामा संक्रमित घटेका हुन् । परीक्षणको आधारमा संक्रमितको संख्या ओरालो लाग्ने क्रममा छ । शुक्रबार जिल्लाका १० जनामा मात्र कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षणमा ३६ जनाको परीक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २ जना र रैनादेवी छहरा गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार ७८ पुगेको छ । जसमा २ हजार ३ सय ३३ महिला र ३ हजार ७ सय ४५ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । ८५ जनामा परीक्षण गरिएकोमा तानसेन, रिब्दीकोटका २/२ र रामपुरका ३ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ६ सय २३ पुगेको छ । जसमा १ हजार ८ सय ७१ जना महिला र १ हजार ७ सय ५२ जना पुरुषमा संक्रमण देखिएको हो । यहाँ अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ५८ पुगेको छ । जसमा ४० जना होम आइसोलेसनमा रहेका छन् भने १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update