Shittalpati
संभावना बोकेका लघु कथाकार : नारायण कोइराला

लुम्बिनी प्रदेश पाल्पा तानसेन सुन्दर गाँउ निवासी माता हरिकला कोइराला र पिता भुवनप्रसाद कोइरालाका साइला सुपुत्र नारायण प्रसाद कोइरालाको जन्म वि.सं. २०३४ साल मंसिर ८ गते भएको हो । सरस्वती मा.वि. सुन्दर गाँउ तानसेनबाट प्रारम्भिक शिक्षा हासिल गरी त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट व्यवस्थापनमा प्रमाण पत्र तह उत्तीर्ण गरेका कोइराला हाल युनाइटेड अरव इमिरेटसमा बैदेशिक रोजगारमा संलग्न छन् । विद्यार्थी जीवन देखिनै सिर्जनशिल कोइरालाले सर्वप्रथम विद्यालयको जुनियर रेडक्रस सर्कलले आयोजना गरेको रेडक्रस कविता प्रतियोगितामा द्धितीय भएका थिए भने पाल्पा जेसिजले आयोजना गरेको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा तृत्तीय स्थान हासिल गरेका थिए । नाटक ‘कालो पर्दा’ प्रकाशित गरिसकेका कोइराला आजभोलि कथा, कविता र लघुकथा लेखन एवं सामाजिक सञ्जालबाट शीत लघुकाब्य र लघुकथा संप्रेषणमा निकै नै व्यस्त रहेका छन् । उनको लघुकथा संग्रह मरुभूमिमा विस्फोटनु प्रकाशोन्मुख अवस्थामा रहेको छ । साहित्य पोस्टले आयोजना गरेको घोष्ट राइटिङ लघुकथा प्रतियोगिताको सत्रौ अंकमा नारायण कोइरालाको लघुकथा ‘सुरुवात’ विजयी भएको छ । बधाई तथा शुभकामना सहित यस लेखमार्फत कथा तत्वको आधारमा लघुकथा ‘सुरुवात’ को संक्षेपमा चर्चा प्रस्तुत गरिएको छ ।
‘सत्य घटनामा आधारित आख्यान नै कथा हो’ भनी भामहले बताएका छन् भने ‘लघुकथा एउटा यस्तो कथात्मक कृति हो, जो एक बसाइँमा पढिसकिन्छ र आफैमा पूर्ण हुन्छ’ भनी एडगर एलेन पोले परिभाषित गरेका छन् । लक्ष्मीप्रसाद देवकोटाका अनुसार ‘कथा एउटा आखिझ्याल हो, जहाँबाट एउटा सानो संसार चियाइन्छ ।’ ‘नौली दुलही बनेर उनी घर भित्रिन्छन् । सुहागरात पछि बिहान सबेरै उठी उनी घरायसी काममा लाग्छिन् । दाइजो नल्याएको निहुँमा घरपरिवारले छोरालाई अर्काे बिहे गर्न उस्काउँ छन् । यो सुनेर उनले बोकेको पानीको गाग्री पछारिन्छ । अगाडि श्रीमानलाई देख्दा उनी डराउँछिन् । श्रीमानले गाग्री उठाउँदै भन्छन्, म तिम्रो हुँ, तिमी मेरी हौ, अरुलाई संझाउने काम हाम्रो हो । अन्तत : उनीहरु दुबै जना नारीहरु माथि हुने हिंसा विरुद्धको अभियानमा संलग्न रहे ।’ लघु कथा सुरुवातको कथानक सार यहि हो । कथामा प्रारभ, संर्घष, विकास, संकटावस्था सुखद उपसंहार रहेका छन् । परम्परागत रुपमा चल्दै आएका हाम्रा सामाजिक कुसंस्कार नै कथानकको स्रोत रहेको छ । कथामा उनी र उनका श्रीमान पात्र नै प्रमुख रुपमा रहेका छन् भने घरपरिवारका सदस्यहरु गौण पात्रहरु खलपात्रको रुपमा रहेता पनि मुख्य पात्रहरु नै सामाजिक रुपान्तरणको अभियानमा लागेका छन् । भाषा शैली सरल रेखीय पद्दतिमा बगेको छ र कथा स्पष्ट बुझिने रहेको छ । हाम्रो समाजमा घट्दै आएको घटनालाई उजागार गरिएको छ । कतिपय यस्ता घटनाहरु सत्य सावित समेत हुँदै आएका छन् । यसैले कथाले नारीको पीडा र घर–घरको व्यथा प्रस्तुत गरेको छ ।

कथाकार नारायण कोइराला 

 

कथाको मुख्य कथानै दाइजो प्रथाको विरोध र महिला हिंसाको अन्त्य रहेको छ । अरुको चाहिने नचाहिने कुरा नसुनि पति पत्नी अर्थात् स्त्री पुरुष आफ्नो जीवनयापन स्वतन्त्रता पूर्वक गर्दै अरुको भलाई र सामाजिक रुपान्तरणका लागि कार्य गर्नुपर्नेमा जोड दिइएको छ । लघु कथाकारले बाह्य दृष्टिविन्दु (तृत्तीय पुरुष) को प्रगोग गरी कथा सिर्जना गरेका छन् । शैलीको आधारमा हेर्दा कथा वर्णनात्मक शैलीमा सरर बगेको छ । उद्देश्यको आधारमा हेर्दा कथा समस्या प्रधान रहेको छ र समस्या मात्र नथुपारी समाधानका उपायहरु समेत प्रस्तुत गरिएको छ । प्रवृत्तिको आधारमा कथालाई हेर्दा लघुकथा ‘सुरुवात’ सामाजिक यथार्थवादी सत्य कथाको निकटम रहेको छ र कथाका नायक पात्रहरुले मानव मूल्य र मान्यताको अस्तित्व खोजिरहेका छन् । विषयवस्तुको आधारमा भन्नु पर्दा लघुकथा मूलत:सामाजिक कथाको रुपमा उपस्थित भएको छ । बिहान कुँखुरी का सँगै उठिन् । अझै पनि उनका आँखा नसालु थिए । उनका ति लथालिङ्ग वस्त्रहरुले उनलाई जिस्काउँदै थिए । करेसामा आइपुग्दा उनको खुट्टा रोकियो । छोरा तँ चिन्ता नगर खुट्टा भए जुत्ता जति पनि आउँछन् । उनको गाग्री करेसामा पल्टियो । भित्रबाट राति घुम्टो उघार्ने पुरुष आए । उनी डराइन् । जस्ता कथानकहरु कथामा क्रमश आएका छन् । यहाँसम्म आइपुग्दा कथामा नारी हिंसा, शोषण, अन्याय र अत्याचार गरेको र हाम्रा कुसंस्कृतीहरुलाई निरन्तरता दिएको पाइन्छ । तर कथाले एक्कासी मोड लिन्छ यसरी उनले (श्रीमान) गाग्री उठाउँदै भने,‘त म तिम्रो हुँँ , तिमी मेरी हौ । अरुलाई सम्झाउने हाम्रो काम हो ।’ सामाजिक विषयवस्तुहरु उठान गर्नु, समस्या समाधानका उपायहरु पस्कनु, अब के हुन्छ भन्ने जिज्ञासा पाठकमा उत्पन्न गराई आशावादी निष्कर्षमा पु¥याउनु नै कथाको बैशिष्ट्य गुण विशेषता रहेको छ । कथामा सुङ्गार, करुण र शान्त रसको बढी प्रयोग भएको छ । पति र पत्नी अर्थात नर र नारी मिलेमा दुनियाँमा परिवर्तन गर्न गराउन सकिन्छ भन्ने सन्देश कथाले दिएको छ । यसका साथै पतिले पत्नीलाई साथ दिएमा सदियौं देखि गरिदै आइएको नारी हिंसा न्यूनिकरणमा सहयोग पुग्ने सकारात्मक अग्रगामी संदेश दिएको छ । ‘छोरा तँ चिन्ता नगर खुट्टा भए जुत्ता जतिपनि आउँछ ।’ भनी नारीहरुलेनै नारीहरुको विरुद्धमा पुरुषहरुलाई भडकाएका हुन्छन । यस्तो भडकाउने परम्पराको अन्त्य नारीहरुले नै गर्नुपर्दछ । तब मात्र नारीहरु स्वतन्त्रापूर्वक बाँच्न र हाँस्न सक्छन अनि उनिहरुलेपनि सामाजिक रुपान्तरणका लागि अभियान संचालन गर्न सक्छन । जसबाट सुन्दर शान्त र समृद समाजको निर्माण हुन सक्छ । आमा पनि नारीनै हुन र पत्नी पनि नारीनै हुन् । बुहारी हुँदा अधिकार खोज्ने नारीले आमा भएपछि अधिकार पनि दिन सक्नुपर्दछ । नारीले नारीलाई बन्धन मुक्त गरी हातेमालो गर्ने हो भने व्यक्ति, घर, परिवार, समाज, समुदाय, राष्टू अझ समृद्ध भएर जान्छ । लघु कथामा पात्र ‘उनी’ ले घर परिवारको नारीबाट माया र स्वतन्त्रता पाइनन् तर पुरुष पात्र श्रीमान्बाट साथ र सहयोग पाईन् अनि उनी श्रीमानसँगै मिलेर नारी हिंसा अन्त्यको लागि अभियानमा लागिन् । अतः हर पुरुष उनका श्रीमान जस्तै हुनुपर्दछ तब मात्र नारीले स्वतन्त्रता पूर्वक जिउँदै सामाजिक रुपान्तरणका लागि जीवन समर्पण गर्न सक्छिन् । सामाजिक रुपान्तरणका लागि अभियान स्वरुप प्रस्तुत विजयी लघु कथा ‘सुरुवात’ को शीर्षक सान्र्दभिक रहेको छ ।
शुद्धिकरणमा ध्यान दिदै कथालाई अझ संक्षेपीकृत रुपमा सम्पादन गरिएमा कथा थप रोचक घोचक र सामाजिक रुपान्तरणका लागि साच्चैनै सूत्र बन्न सक्छ । लेखन तथा वाचन एक रमाइलो कार्यक्रमका अभियन्ता, शीत काब्य समाज नेपालका उपाध्यक्ष, जुनेली साहित्य समाजका उपाध्यक्ष, षडऋतृ काब्य समाजका उपाध्यक्ष, तितोपाटी डटकमका सामाजिक संजाल प्रतिनिधि समेत रहनु भएका कथाकार नारायण कोइराला आख्यान विधाको जनसंख्यामा संभावना वोकेका उदियमान कथाकारको रुपमा जन्मेका छन् । नेपाली साहित्यको श्रीवृद्धिको लागि बैदेशिक भूमिमा रही स्वदेशी भाषा र साहित्यको संरक्षण र सम्वद्र्धन गर्नुका साथै नेपाली भाषा साहित्यलाई अरब भूमि मार्फत विश्वव्यापिकरण गर्न अहोरात्र लागिपरेका छन् । आगामी दिनमा कोइरालाका अझ सशक्त विम्व प्रतिक, रसमय, अर्थपूर्ण, संदेशमुलक र अग्रगामी शोध खोज र साेंच सहितका कथाहरु आइरहुन । सामाजिक संजालमा संपे्रषण भइरहुन । विभिन्न पत्र पत्रिका एवं संगालोहरुमा छापिइरहुन । कथा कविता लगायतका कृतिहरु प्रकाशित भइनै रहुुन् । शुभकामना ।

 

 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update