Shittalpati
रेडक्रस स्थापना दिवस : दमकडामा कोभिड सचेतना

पाल्पा, नेपाल रेडक्रस माण्डव्य उपशाखा दमकडाले कोभिड १९ विरुद्धको सचेतना कार्यक्रम गरेको छ । रेडक्रसको ५९ औं स्थापना दिवसको अवसरमा उपशाखाले शनिबार तानसेनको दमकडामा सचेतना कार्यक्रम गरेको हो ।

परोपकारी तथा मानवीय सेवामा तल्लीन रेडक्रसले कोरोनाबाट जोगिने उपायका बारेमा सचेतना कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । कार्यक्रममा कोरोना महामारीेको संक्रमण अझै पनि कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्नेमा जोड दिइएको छ । रेडक्रसले महामारीबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने, भिडभाड गर्न नहुने, बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका सदस्य तुलबहादुर गाहाले परोपकारी संस्था रेडक्रसले वर्तमान अवस्थालाई मध्यनजर गरी सचेतनाका कार्यक्रम गर्नु आफैमा प्रशंसनिय कार्य रहेको बताए । उनले अहिले विश्व नै कोरोना महामारीबाट प्रभावित भएको अवस्थामा स्थानीयस्तरमा रेडक्रसले महामारीका विषयमा सचेतना कार्यक्रम गर्नुले कोरोना नियन्त्रणमा केही टेवा पुग्ने विश्वास व्यक्त गरे । रेडक्रस जिल्ला सदस्य लक्ष्मी खरालले महामारी नियन्त्रणमा उच्च प्राथमिकताका साथ रेडक्रसका शाखा, उपशाखाहरु लागेको बताईन् । उनले कोरोना संक्रमणबाट बच्च उच्च स्वास्थ्य सुरक्षा अपनाउन सबैलाई आग्रह गरिन । कार्यक्रममा शिक्षाविद् राधाकृष्ण शर्मा, सामाजिक व्यक्तित्व पुरुषोत्तम अर्याल, दमकडा माविका पूर्व प्रअ दुर्गाप्रसाद अर्याल, रेडक्रसका आजीवन सदस्य लेखनाथ भण्डारी लगायतले रेडक्रसले सञ्चालन गरेको कोरोना सचेतना कार्यक्रमले संक्रमण नियन्त्रणमा केही हदसम्म भूमिका खेल्न सक्नेमा जोड दिए । रेडक्रस उपशाखाका सभापति मीनप्रसाद बञ्जाडेको अध्यक्षता, उपसभापति रुद्र बस्यालको स्वागत, सचिव सन्तोष अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । 

तस्वीर सौजन्य प्रकाश नेपाल 

 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update